कांग्रेसमा गगन–विश्व पक्षको ८ बुँदे सर्त: गगनलाई भावी प्रधानमन्त्री र देउवालाई ‘निष्क्रिय’ बस्न प्रस्ताव

काठमाडौँ, ३० पुस । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति सङ्घर्ष पेचिलो बन्दै गएका बेला विशेष महाधिवेशनको पक्षधर समूहले सहमतिका लागि संस्थापन पक्षसँग ८ बुँदे प्रस्ताव अघि सारेको छ ।

पार्टी कार्यालय सानेपामा केन्द्रीय समितिको बैठक जारी रहँदा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सम्मिलित इतर समूहले पार्टी सुधार र भावी चुनावी रणनीतिका लागि यस्तो सर्त अघि सारेको हो ।

प्रस्तावमा वर्तमान सभापति शेरबहादुर देउवाको भूमिकालाई ‘निष्क्रिय’ बनाइनुपर्ने र आगामी निर्वाचनमा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्नुपर्ने मुख्य माग राखिएको छ ।

यस्ता छन् इतर पक्षका ८ बुँदे प्रस्तावहरू:
१. विशेष महाधिवेशनको स्वामित्व: विशेष महाधिवेशनको मागलाई पार्टीको साझा एजेन्डाका रूपमा स्वीकार गर्दै यसको स्वामित्व सबै पक्षले लिनुपर्ने ।
२. प्रस्तावहरूको कार्यान्वयन: परिमार्जनसहित पारित भएका नीतिगत प्रस्तावहरूलाई अक्षरशः कार्यान्वयनमा लैजानुपर्ने ।
३. सभापतिको भूमिका: पार्टी सभापतिले अब सक्रिय भूमिका निर्वाह नगर्ने । विशेष गरी, निर्वाचनमा उम्मेदवारी मनोनयन पत्र (टिकट) मा सभापतिले हस्ताक्षर नगर्ने सुनिश्चितता हुनुपर्ने ।
४. संसदीय बोर्ड गठन: आगामी निर्वाचनका लागि उम्मेदवार चयन गर्न समावेशी र शक्तिशाली संसदीय बोर्ड गठन गर्नुपर्ने ।
५. एकढिक्का निर्वाचन: आगामी निर्वाचनमा पार्टीभित्रका सबै पक्षहरूलाई समेटेर पूर्ण एकताका साथ मैदानमा उत्रनुपर्ने ।
६. चुनावी गठबन्धनको अन्त्य: आगामी निर्वाचनमा नेपाली कांग्रेसले कुनै पनि दलसँग चुनावी तालमेल वा गठबन्धन नगर्ने र एक्लै प्रतिस्पर्धा गर्ने ।
७. प्रधानमन्त्रीको उम्मेदवार घोषणा: निर्वाचनअघि नै नेपाली कांग्रेसका तर्फबाट गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जनतामा जानुपर्ने ।
८. पाँच सदस्यीय संयन्त्र: माथि उल्लेखित कार्यहरूको समन्वय र कार्यान्वयनका लागि एक शक्तिशाली ५ सदस्यीय संरचना गठन गर्ने । जसमा कार्यवाहक सभापति र दुई महामन्त्रीबाहेक थप दुई नेताहरू रहनेछन् ।

इतर समूहले राखेका यी प्रस्तावहरूले कांग्रेसभित्र नयाँ बहस सिर्जना गरेको छ । विशेष गरी सभापतिको अधिकार कटौती र निर्वाचनअघि नै प्रधानमन्त्रीको उम्मेदवार तोक्ने विषयमा संस्थापन पक्ष कसरी प्रस्तुत हुन्छ भन्ने कुराले कांग्रेसको आगामी दिशा तय गर्ने देखिएको छ ।

बैठकमा सहभागी नेताहरूका अनुसार यी प्रस्तावहरूमाथि छलफल भइरहेको छ र संस्थापन पक्षले यसलाई कसरी ग्रहण गर्छ भन्नेमा पार्टीको भविष्यको समीकरण निर्भर रहनेछ ।