काठमाडौँ महानगरको आय-व्यय प्रक्षेपणको वास्तविकताका लागि तेस्रो पक्षबाट अध्ययन गराउन उपप्रमुखको निर्देशन
काठमाडौँ, पुस ३० । काठमाडौँ महानगरपालिकाको राजस्व परामर्श समितिले आगामी तीन आर्थिक वर्षका लागि आय र व्ययको प्रक्षेपण सार्वजनिक गरेको छ । उपप्रमुख एवं समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा बुधबार बसेको बैठकले आन्तरिक स्रोत, राजस्वको दायरा र खर्चको आवश्यकतालाई विश्लेषण गर्दै उक्त प्रक्षेपण गरेको हो।
बैठकले आ. व. २०८३/०८४ का लागि १५ अरब १३ करोड ३० लाख ५५ हजार रुपियाँ, आ. व. २०८३/०८४ का लागि १५ अरब ५१ करोड ८१ लाख ६० हजार रुपियाँ र आ. व. २०८३/०८४ का लागि १५ अरब ९८ करोड ८६ लाख ६५ हजार रुपियाँ आय अनुमान गरेको छ । महानगरपालिकाको आ. व. २०८१/०८२ को यथार्थ आय १० अरब ७४ करोड ४४ लाख ५४ हजार रुपियाँ हो । महानगरपालिकाले चालु आर्थिक वर्षका लागि १५ अरब ११ करोड ४३ लाख ४१ हजार रुपियाँ आय लक्ष्य राखेको छ । जसमध्ये अहिलेसम्ममा ५ अरब ६९ करोड रुपियाँ आय संकलन भएको छ ।
त्यस्तै, व्ययतर्फ आ.व. २०८३/०८४ का लागि २७ अर्ब ६२ करोड, आ.व. २०८४/०८५ का लागि ३० अर्ब ३८ करोड र आ.व. २०८५/०८६ का लागि ३३ अर्ब ४२ करोड रुपियाँभन्दा बढीको खर्च अनुमान गरिएको छ। महानगरको हालको (आ.व. २०८२/०८३) आय लक्ष्य १५ अर्ब ११ करोड रुपैयाँ रहेकोमा हालसम्म ५ अर्ब ६९ करोड रुपियाँ संकलन भएको बैठकमा जानकारी दिइयो।
प्रक्षेपणलाई व्यावहारिक र यथार्थपरक बनाउन संयोजक डंगोलले राजस्व र वित्त विभागका अधिकारीहरूलाई विशेष निर्देशन दिनुभएको छ। उहाँले भन्नुभयो, “आम्दानी र खर्चको प्रक्षेपणलाई वास्तविक बनाउन आधार, तथ्य र व्यवहारिकताको अध्ययन जरुरी छ। यसका लागि तेस्रो पक्षबाट व्यावसायिक सेवा लिएर तथ्यपूर्ण प्रतिवेदन तयार पार्नुहोस्।” उहाँले आम्दानीले खर्च नियन्त्रण गर्ने प्रणाली स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले निर्दिष्ट गरेको समयसीमाभित्रै आगामी वर्षको बजेट तथा कार्यक्रम तर्जुमाको कार्य भइरहेको बताउनुभयो।
स्थानीय सरकार सञ्चालन ऐनअनुसार स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले चैत १५ गतेभित्र बजेटको कुल सीमा निर्धारण गरी विषयगत विभाग र वडाहरूलाई उपलब्ध गराउनुपर्ने प्रावधान छ। सोही सीमाका आधारमा आगामी वर्षको वार्षिक बजेट, नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिई कार्यपालिकामा पेस गरिने महानगरपालिकाले जनाएको छ।