कांग्रेसको विवाद निर्वाचन आयोगमा: संस्थापन पक्ष आज आयोग जाँदै
काठमाडौँ, २ माघ । नेपाली कांग्रेसभित्र चुलिएको आन्तरिक विवाद निर्वाचन आयोग पुगेको छ । पार्टी सभापति शेरबहादुर देउवा पक्षीय (संस्थापन) नेताहरू आज निर्वाचन आयोग जाने तयारीमा छन् ।
संस्थापन पक्षका शीर्ष नेता तथा कार्यकर्ताहरू आयोग पुगेर गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा घोषणा गरिएको कार्यसमिति अवैध रहेको जानकारी गराउने बुझिएको छ । पार्टीको विधानअनुसार विशेष महाधिवेशन आह्वान नै नभएको अवस्थामा बनेको नयाँ कार्यसमितिलाई मान्यता नदिन आयोगसमक्ष आग्रह गरिने संस्थापन पक्षका एक नेताले बताए ।
यसअघि बिहीबार महामन्त्री गगन थापा नेतृत्वको समूहले निर्वाचन आयोगमा निवेदन दिँदै पार्टीको कार्यसमिति अद्यावधिक गर्न माग गरेको थियो । उक्त निवेदनमा निर्वाचनमा उम्मेदवारको टिकट वितरण गर्ने अधिकारबाट शेरबहादुर देउवाको नाम हटाउन समेत माग गरिएको छ ।
पार्टीभित्रको पछिल्लो शक्ति सङ्घर्ष र विकसित घटनाक्रमका बारेमा आधिकारिक धारणा सार्वजनिक गर्न आजै दिउँसो २ बजे कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन आयोजना गरेका छन् ।