उच्च अदालतको आदेशपछि नेपाल चिकित्सक सङ्घको निर्वाचन स्थगित

काठमाडौँ, २ माघ । नेपाल चिकित्सक सङ्घ (एनएमए) को पूर्वनिधारित निर्वाचन कार्यक्रम स्थगित भएको छ ।

पाटन उच्च अदालतले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेपछि सङ्घले शुक्रबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन प्रक्रिया स्थगित भएको जानकारी दिएको हो ।

सङ्घका प्रमुख निर्वाचन अधिकृत डा. प्रणयरत्न शाक्यले अदालतको आदेशलाई मध्यनजर गर्दै तत्कालका लागि निर्वाचनका सबै कार्यक्रम रोकिएको बताउनुभयो । उहाँका अनुसार निर्वाचन समितिले परिस्थितिको अध्ययन गरी चाँडै अर्को सूचनामार्फत निर्वाचनको नयाँ तालिका सार्वजनिक गर्नेछ ।

यसअघि तय भएको तालिकाअनुसार काठमाडौँ उपत्यका बाहिर माघ २ र ३ गते (आज र भोलि) मतदान हुने कार्यक्रम थियो भने उपत्यकाभित्र माघ १५, १६ र १७ गतेका लागि निर्वाचन तय गरिएको थियो । उपत्यका बाहिर मतदान सुरु हुने दिन नै निर्वाचन रोकिएको हो ।

डा. अजयकुमार मिश्रले निर्वाचन प्रक्रियामा असन्तुष्टि जनाउँदै दायर गरेको रिटमाथि सुनुवाइ गर्दै पाटन उच्च अदालतले निर्वाचनका कामकारबाही यथास्थितिमा राख्न अन्तिम आदेश जारी गरेको थियो । सोही कानुनी अड्चनका कारण सङ्घको नयाँ नेतृत्व चयन प्रक्रिया अन्योलमा परेको छ ।