वीर अस्पतालको आकस्मिक सेवा विस्तार : थपिए २५ शय्या
काठमाडौँ, ५ माघ । काठमाडौँको वीर अस्पतालले बिरामीको चापलाई मध्यनजर गर्दै आकस्मिक कक्ष (इमर्जेन्सी) को सेवा विस्तार गरेको छ । अस्पतालले हालै २५ वटा नयाँ शय्या थप गरी आकस्मिक सेवालाई सुदृढ बनाएको हो । अस्पतालका निर्देशक डा. दिलीप शर्माका अनुसार यसअघि ३० शय्याबाट मात्र आकस्मिक सेवा प्रवाह हुँदै आएको थियो । “अस्पतालमा बिरामीको चाप अत्यधिक हुँदा एउटै शय्यामा दुई जनासम्म राखेर उपचार गर्नुपर्ने बाध्यता थियो,” डा. शर्माले भन्नुभयो, “बिरामीको सहजताका लागि शय्या थप गरिएको हो र निकट भविष्यमै थप २० शय्या विस्तार गर्ने हाम्रो लक्ष्य छ ।”
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अस्पतालको आन्तरिक स्रोतबाट विनियोजित ७ करोड रुपैयाँको लागतमा यो विस्तार कार्य सम्पन्न गरिएको हो । नयाँ आकस्मिक कक्षमा बिरामीका कुरुवाहरूका लागि खाना पकाउने विशेष व्यवस्था समेत मिलाइएको अस्पतालले जनाएको छ ।
वीर अस्पतालमा हाल दैनिक ३ हजारभन्दा बढी बिरामीहरू उपचारका लागि आउने गरेका छन् भने दैनिक ७० देखि ८० वटा साना-ठूला शल्यक्रियाहरू सम्पन्न हुने गरेका छन् । हाल यस अस्पतालमा कुल ८५० शय्या र ११० वटा सघन उपचार कक्ष (आइसियु) सञ्चालनमा रहेका छन् । आकस्मिक कक्षको विस्तारसँगै बिरामीहरूले थप गुणस्तरीय र सहज सेवा पाउने विश्वास गरिएको छ ।