बैतडी ट्याक्टर दुर्घटना अपडेट: ज्यान गुमाउने चालकको पहिचान खुल्यो, ३ घाइतेको डडेल्धुरामा उपचार हुँदै

बैतडी, ८ माघ । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ अनारखोलीमा बिहीबार बिहान भएको ट्याक्टर दुर्घटनामा परी ज्यान गुमाउने र घाइते हुनेहरूको पहिचान खुलेको छ ।

धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको म १ त १०१३ नम्बरको ट्याक्टर सडकबाट ५० मिटर तल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक सुरज सिंहका अनुसार दुर्घटनामा ट्याक्टर चालकको घटनास्थलमै ज्यान गएको छ । मृत्यु हुनेमा: करन बुढामगर (२१ वर्ष): महाकाली नगरपालिका–५, गल्फै, दार्चुलाका रहेका छन् ।

दुर्घटनामा सोही ट्याक्टरमा सवार अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेहरूमा कैलालीका बासिन्दा रहेका छन्:
१. सुरज घर्तिमगर (४० वर्ष): टिकापुर नगरपालिका–७, कैलाली ।
२. सिद्धार्थ घर्तिमगर (१८ वर्ष): (सुरजका छोरा), टिकापुर नगरपालिका–७, कैलाली ।
३. अमित विक: टिकापुर नगरपालिका–६, कैलाली ।

प्रहरीका अनुसार घाइते तीनै जनाको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।