भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा, झन्डै ७ करोड अकुत सम्पत्ति आर्जन गरेको अभियोग

काठमाडौं, १३ माघ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरत कुमार आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सार्वजनिक पदमा रहँदा पदीय मर्यादा विपरीत गैरकानुनी रूपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आयोगले आचार्यमाथि ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको दाबीसहित आरोपपत्र दायर गरेको छ।

अख्तियारले आचार्यको सार्वजनिक सेवा प्रवेश गरेको मिति २०४८ माघ ६ देखि २०८० असार ६ गतेसम्मको अवधिलाई जाँचबुझको दायरामा राखेको थियो।

उक्त ३२ वर्षको अवधिमा आचार्यको पारिश्रमिक, भत्ता, जग्गा बिक्री, श्रीमतीको कमाइ, घर बहाल, बैंक ब्याज तथा ऋणलगायतका शीर्षकमा कुल वैध आय ३ करोड ५१ लाख ८ हजार २१० रुपैयाँ मात्र देखिएको छ।
तर, सोही अवधिमा उनले जग्गा खरिद, घर निर्माण, सवारी साधन, छोराछोरीको शिक्षा, जीवन बीमा र विभिन्न कम्पनीमा लगानी तथा बैंक मौज्दातसमेत गरी १० करोड २९ लाख ९९ हजार २२६ रुपैयाँ खर्च तथा लगानी गरेको पाइएको छ।

यसरी वैध आयको तुलनामा ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेपछि आयोगले सोही रकमलाई बिगो कायम गरी मुद्दा चलाएको हो।

आचार्यले भ्रष्टाचारबाट कमाएको सम्पत्ति श्रीमती लिली सुवेदीको नाममा समेत राखेको अनुसन्धानबाट खुलेको छ। आयोगले आचार्यले पेस गरेको सम्पत्ति विवरण र उनको जीवनशैलीबीच ठूलो अन्तर देखिएको जनाएको छ।

अख्तियारले इन्जिनियर आचार्यलाई भ्रष्टाचार निवारण ऐन बमोजिम हदैसम्मको कैद र बिगो बमोजिमको जरिवानाको माग गरेको छ। साथै, स्रोत नखुलेको सम्पत्तिबाट बढेको बढोत्तरी र श्रीमती सुवेदीको नाममा रहेको सम्पत्तिसमेत जफत गरी बिगो असुल उपर गर्न मागदाबी लिइएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *