राष्ट्रियसभामा चलचित्र विधेयक र सरोकार समितिको प्रतिवेदन पेस
काठमाडौं,१३ माघ । राष्ट्रियसभाको मंगलबारको बैठकमा दुईवटा संसदीय समितिका प्रतिवेदन पेस भएका छन्।
बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले ‘चलचित्र विधेयक, २०८१’ सम्बन्धी समितिको प्रतिवेदन पेस गरिन्।
प्रतिवेदन पेस गर्दै सभापति दाहालले चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक र मनोरञ्जनात्मक उद्योगका रूपमा विकास गर्न यो विधेयक आवश्यक रहेको बताइन्। उनले चलचित्रमार्फत देशलाई पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्न तथा चलचित्र प्रदर्शन अघि गरिने जाँच (सेन्सर), प्रवर्द्धन र नियमनलाई व्यवस्थित गर्न नयाँ कानुन महत्त्वपूर्ण हुने धारणा राखिन्।
त्यसैगरी, आजको बैठकमा सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम ग्याल्जेन शेर्पाले समितिको ‘आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गरेका छन्।
राष्ट्रियसभाको अर्को बैठक भोलि (बुधबार) अपराह्न १ः१५ बजे बस्ने गरी स्थगित भएको छ।