काठमाडौंको मुलपानीमा प्रहरीले चलायाे गाेली, कारण के थियाे ?

काठमाडौँ, १५ माघ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित मुलपानीमा प्रहरीले गाेली चलाएर लुटपाटमा संलग्न एक गिरोहलाई पक्राउ गरेको छ ।

प्रहरीले साे क्षेत्रमा गएराति विशेष ‘अप्रेसन’ चलाएर लुटपाटमा संलग्न १० जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ गर्ने क्रममा लुटेरा समूहले प्रतिकार गर्न खोजेपछि प्रहरीले गोलीसमेत चलाउनुपरेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवं एसएसपी रमेश थापाका अनुसार पछिल्लो समय राजधानीमा रातिको समयमा सर्वसाधारणलाई पिछा गरी सुनका गरगहना, नगद तथा धनमाल लुटपाट गर्ने घटना बढेपछि प्रहरी टोली परिचालित थियो ।

सोही क्रममा मुलपानी क्षेत्रमा शंकास्पद समूहलाई नियन्त्रणमा लिन खोज्दा स्थिति तनावपूर्ण बनेपछि गोली चलाउनुपरेको एसएसपी थापाले जानकारी दिए ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूको नाम र परिचय तत्काल सार्वजनिक गरेको छैन । यद्यपि, यस गिरोहबाट कोही पीडित भएको भए तत्काल प्रहरी सम्पर्कमा आउन परिसरले अनुरोध गरेको छ ।