हिमपातले मध्यपहाडी लोकमार्ग दुई दिनदेखि ठप्प, ३०० यात्रुको उद्धार

रुकुम, १५ माघ। निरन्तरको हिमपातका कारण मध्यपहाडी (पुष्पलाल) लोकमार्गको रुकुम पूर्व खण्ड बुधबारदेखि अवरुद्ध भएको छ । सडकमा बाक्लो हिउँ जमेका कारण आज (बिहीबार) पनि यातायात सञ्चालनमा आउन सकेको छैन ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बुधबार दिनभर हिमपात भएपछि तत्काल हिउँ पन्छाउन सम्भव नहुँदा राजमार्ग ठप्प बनेको हो ।

सडक अवरुद्ध हुँदा बुधबार पातीहाल्ना क्षेत्रमा करिब तीन सय यात्रु अलपत्र परेका थिए । काठमाडौँबाट रुकुम पश्चिम र डोल्पाका लागि छुटेका बसहरू हिउँमा फसेपछि यात्रुहरू बीचबाटोमै रोकिएका थिए । सुरक्षाकर्मीको टोलीले उनीहरूको उद्धार गरी केहीलाई रुकुम पूर्व र केहीलाई बागलुङको बुर्तिबाङतर्फ पठाएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) उमाशङ्कर प्रसाद यादवका अनुसार आज बिहानैदेखि सडक खुलाउने प्रयास भइरहेको छ । ‘बिहानैदेखि हिउँ पन्छाउन टोली खटिएको छ,’ डिएसपी यादवले भने, ‘रुकुम पूर्वतर्फको करिब तीन किलोमिटर सडकमा बाक्लो हिउँ छ, त्यसलाई हटाउने काम जारी छ ।’

प्रहरीका अनुसार रुकुम पूर्वतर्फको हिउँ पन्छाए पनि सडक पूर्ण रूपमा सञ्चालनमा आउन भने बागलुङ खण्ड पनि खुल्नुपर्नेछ । डिएसपी यादवले बागलुङले पनि आफ्नो क्षेत्रमा परेको हिउँ हटाएपछि मात्र सडक सुचारु हुने जानकारी दिए ।