बुद्ध जन्मस्थल लुम्बिनीमा आगामी वैशाखमा तेस्रो ‘अन्तरराष्ट्रिय बौद्ध सम्मेलन’ आयोजना हुने
लुम्बिनी, २२ माघ । बुद्ध जन्मस्थल लुम्बिनीमा आगामी वैशाख १६ र १७ गते तेस्रो ‘अन्तरराष्ट्रिय बौद्ध सम्मेलन’ आयोजना गरिने भएको छ । लुम्बिनी विकास कोषको आज बसेको परिषद् बैठकले २५७०औँ बुद्ध जयन्ती तथा वैशाख पूर्णिमाको अवसर पारेर उक्त भव्य सम्मेलन गर्ने निर्णय गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं कोषका अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा बसेको बैठकले सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमेछिरिङ) को संयोजकत्वमा १० सदस्यीय मूल समारोह समिति गठन गरेको छ ।
लुम्बिनीको प्रचारप्रसारलाई अन्तरराष्ट्रिय स्तरमा नयाँ उचाइमा पुर्याउन र पर्यटक आगमन वृद्धि गर्न यो सम्मेलन कोसेढुङ्गा सावित हुने विश्वास लिइएको छ । बुद्ध धर्म र दर्शनमार्फत विश्व शान्ति, दया र करुणाको सन्देश फैलाउने उद्देश्यका साथ सम्मेलन आयोजना गर्न लागिएको मूल समारोह समितिका संयोजक डा. लामाले जानकारी दिनुभयो ।
यस सम्मेलनका लागि सरकारले चालु आर्थिक वर्षमा रु तीन करोड बजेट विनियोजन गरेको छ । यसअघि राजनीतिक तथा संरचनात्मक परिवर्तनका कारण नोभेम्बरमा हुने भनिएको सम्मेलनलाई सारेर वैशाखमा तय गरिएको कोषका सदस्य सचिव एवं इन्जिनियर दीपक श्रेष्ठले बताउनुभयो ।
६० देशका विद्वान सहभागी हुने
दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा विश्वका ६० भन्दा बढी देशका बौद्ध विद्वान, गुरुहरू, विशिष्ट पाहुना र विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । सम्मेलनमा लुम्बिनी, कपिलवस्तु र बुद्धसँग सम्बन्धित अन्य क्षेत्रको सम्पदा, पर्यावरणीय अवस्था, बौद्ध शिक्षा र संस्कृति जस्ता विषयमा कार्यपत्रहरू प्रस्तुत हुने र गहन छलफल गरिने जनाइएको छ ।
यसअघि भएका पहिलो र दोस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलनले नेपालको धार्मिक र सांस्कृतिक पर्यटनमा महत्त्वपूर्ण योगदान पुर्याएको थियो । यस पटकको सम्मेलनले लुम्बिनीलाई विश्वकै प्रमुख पर्यटकीय र आध्यात्मिक केन्द्रका रूपमा थप सुदृढ बनाउने लक्ष्य राखेको छ ।