मतदातालाई सामाजिक सञ्जालमा ‘कसलाई भोट दिनुहुन्छ’ भनी सोध्न नपाइने, गोपनियता भङ्ग गरे कडा कारबाही हुने निर्वाचन कार्यालयको चेतावनी

काठमाडौँ, २५ माघ । जिल्ला निर्वाचन कार्यालय काठमाडौँले मतदाताको गोपनियताको हक र निर्वाचन आचारसंहिता विपरीतका गतिविधि भइरहेको भन्दै गम्भीर आपत्ति जनाएको छ ।

केही अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले सर्वसाधारण तथा मतदातालाई ‘तपाईँ कसलाई मत दिनुहुन्छ?’ भनी सोध्ने र त्यसलाई सार्वजनिक गर्ने गरेको पाइएपछि कार्यालयले यस्तो कार्य नगर्न सचेत गराएको हो ।

निर्वाचन कार्यालयले आइतबार एक विज्ञप्ति जारी गर्दै ‘निर्वाचन आचारसंहिता, २०८२’ को पूर्ण पालना गर्न सबै सरोकारवालालाई ध्यानाकर्षण गराएको छ ।

आचारसंहिताको दफा ४ बमोजिम मतदाताले कसलाई मतदान गर्छन् भन्ने कुरा नितान्त व्यक्तिगत र गोप्य रहने विषय हो । यसलाई भङ्ग गर्ने गरी अन्तर्वार्ता लिने, सर्वेक्षण गर्ने वा सोधपुछ गर्ने कार्य कानुन विपरीत हुने कार्यालयले स्पष्ट पारेको छ । “यस्ता कार्यले निष्पक्ष निर्वाचनको वातावरणमा असर पुर्‍याउने भएकाले तत्काल रोक्न अनुरोध गर्दछौँ, अन्यथा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइनेछ,” कार्यालयले भनेको छ ।

निर्वाचन कानुनअनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र औपचारिक प्रचारप्रसार गर्न पाइने व्यवस्था छ । सो अवधिमा मात्र जुलुस, आमसभा, कोणसभा, सञ्चारमाध्यममा विज्ञापन र घरदैलो कार्यक्रम गर्न पाइन्छ ।

तर, कतिपय राजनीतिक दल र उम्मेदवारले निर्धारित समयअगावै कोणसभा गर्ने, घरदैलो गर्ने र प्रचार सामग्री प्रकाशन गरी मतदातालाई प्रभाव पार्ने काम गरिरहेको उजुरी प्राप्त भएको निर्वाचन कार्यालयले जनाएको छ ।

आचारसंहिता अनुगमन अधिकृतहरू मुक्तिराम रिजाल, शिवराम भट्टराई, रोमाकान्त काफ्ले, मुनकुमार केसी, सुनिता सुवेदी र रुक्मागत अर्यालले संयुक्त रूपमा आचारसंहिताको अक्षरसः पालना गर्न आग्रह गर्नुभएको छ । अनुगमन टोलीले सामाजिक सञ्जाल र भौतिक रूपमा भइरहेका गतिविधिहरूको सूक्ष्म निगरानी गरिरहेको र आचारसंहिता उल्लङ्घन गरेको प्रमाण भेटिएमा तत्कालै कडा कानुनी एक्सन लिइने चेतावनी दिएको छ ।

निर्वाचन कार्यालयले मतदाताको स्वतन्त्रता र गोपनियताको सम्मान गर्दै मर्यादित ढङ्गले निर्वाचन प्रक्रियामा सहभागी हुन सबै पक्षसँग अपिल गरेको छ ।