खोकनाको पहिचान : ३०० वर्ष पुरानो काठको कोलबाट अझै पेलिन्छ तेल
ललितपुर, २५ माघ । ललितपुरको ऐतिहासिक बस्ती खोकना भन्नेबित्तिकै धेरैको मानसपटलमा शुद्ध तोरीको तेलको सुगन्ध र स्वाद झल्किन्छ। आधुनिक प्रविधिको तीव्र विकासका बाबजुद खोकनाले आफ्नो तीन शताब्दी पुरानो तेल पेल्ने परम्परालाई अझै जीवित राखेको छ।
खोकनास्थित ऐतिहासिक ‘गाबु ज्याः सा’ तेल मिलमा झन्डै ३०० वर्ष पुरानो काठको कोल (मिल) अहिले पनि सञ्चालनमा छ। स्थानीय कान्छा महर्जनले यस पुर्ख्यौली पेशालाई निरन्तरता दिँदै आउनुभएको छ। यहाँको कोलबाट निकालिएको शुद्ध तेलको माग स्वदेशमा मात्र नभई विदेशमा रहेका नेपालीहरू माझ पनि उच्च रहेको उहाँ बताउनुहुन्छ।
मल्लकालमा खोकनामा यस्ता चारवटा ऐतिहासिक काठका कोलहरू सञ्चालनमा थिए। समयक्रमसँगै तीमध्ये तीनवटा बन्द भए पनि ललितपुर महानगरपालिकाले ती ऐतिहासिक संरचनालाई पुनः सञ्चालनमा ल्याउन भवन निर्माणको प्रक्रिया अघि बढाएको छ। खोकनाको यो मौलिक प्रविधि अवलोकनका लागि विदेशी पर्यटकहरू समेत पुग्ने गरेका छन्।
पछिल्लो समय खोकनामा आधुनिक प्रविधिका तेल मिलहरू पनि थपिएका छन्। हाल यहाँ १० देखि १५ वटा आधुनिक मिल सञ्चालनमा रहेको व्यवसायी पवित्रकुमार डङ्गोलले जानकारी दिनुभयो। काठको कोलमा जनशक्ति धेरै लाग्ने र उत्पादन लागत महँगो हुने भएकाले युवा व्यवसायीहरू आधुनिक मेसिनतर्फ आकर्षित भएका हुन्।
कुनै समय खोकनावासी आफैँले तोरी उत्पादन गर्थे र तेलसँग तोरी साट्न काठमाडौँ, भक्तपुर, नुवाकोट र मकवानपुरसम्म पुग्दथे। तर, अहिले स्थानीय उत्पादनले बजारको माग धान्न नसकेपछि भारत र युक्रेन लगायतका देशबाट तोरी आयात गर्ने गरिएको व्यवसायी डङ्गोलले बताउनुभयो।
ऐतिहासिक काठको कोल र आधुनिक मेसिन दुवैको सहअस्तित्वले खोकनालाई आज पनि ‘शुद्ध तोरीको तेलको सहर’का रूपमा चिनाइरहेको छ।