पूर्वप्रधानमन्त्री ओलीसँग खयरबारीबासीले भने, ‘खोलो त बाँधियो, अब धनीपुर्जा चाहियो’
झापा, २६ माघ । झापाको कमल गाउँपालिका–६ स्थित खयरबारी बस्तीका बासिन्दाले रतुवा खोलाको जोखिम हटेपछि अब आफूहरूलाई जग्गाको धनीपुर्जा उपलब्ध गराइदिन माग गरेका छन् । आइतबार खयरबारी पुग्नुभएका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग स्थानीयले यस्तो माग राखेका हुन् ।
रतुवा खोलाको पूर्वी किनारमा रहेको यो बस्ती विगत एक दशक अघिसम्म बाढी र कटानको उच्च जोखिममा थियो । बर्सेनि बस्ती नै विस्थापित हुने समस्या रहेको खयरबारीमा अहिले बलियो तटबन्धन गरिएपछि बाढीको त्रास हटेको छ । सडक र तटबन्धनको सुविधा पुगेपछि स्थानीयले अबको मुख्य आवश्यकता भूमि व्यवस्थापन भएको बताएका छन् ।
अध्यक्ष ओलीसँगको भेटमा स्थानीयले खुसी व्यक्त गर्दै भने, “तपाईंको पहलमा खोलो त बाँधियो, गाउँसम्म बाटो पनि आयो, अब हामीलाई धनीपुर्जाको व्यवस्था गरिदिनुपर्यो ।” यहाँ अझै पनि केही परिवार भूमिहीन रहेका र ठूलो संख्यामा अव्यवस्थित बसोबासको समस्या रहेको उनीहरूको भनाइ थियो ।
कार्यक्रममा अध्यक्ष ओलीले पनि विगतमा रतुवा खोलाले दिएको दुःख र सडक नहुँदा स्थानीयले भोगेको सास्तीको स्मरण गर्नुभयो । भूमि समस्याका बारेमा बोल्दै उहाँले भन्नुभयो, “विगतमा एमाले नेतृत्वको सरकारले भूमि समस्या समाधानका लागि आयोग गठन गरेर काम अगाडि बढाएको थियो, तर पछिल्ला सरकारहरूले आयोग नै खारेज गरिदिएका कारण धनीपुर्जा वितरणमा ढिलाइ भएको हो ।” उहाँले एमाले भूमिहीनका समस्या समाधान गर्न सधैँ गम्भीर रहेको दाबी समेत गर्नुभयो ।