उच्च पहाडी भेगमा हिमपात र वर्षाको सम्भावना, तराई र उपत्यकामा वायु प्रदूषण बढ्ने
काठमाडौँ, २७ माघ । नेपालमा हाल पश्चिमी वायुको प्रभाव कमजोर रहेकाले देशभरको मौसममा आंशिक परिवर्तन देखिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ ।
आज दिउँसो देशका उच्च पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
यता, तराईका भू-भागमा भने बिहानीपख लागेको कुहिरो मध्याह्नसम्म रहनेछ । पहाडी भेगमा आंशिक बदली रहे पनि तराईमा बाँकी समय मौसम मुख्यतया सफा रहनेछ ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहनेछ । देशका अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।
महाशाखाले विशेष गरी तराईका जिल्लाहरू र काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्न सक्ने चेतावनी दिएको छ । तत्कालै ठूलो वर्षा हुने सम्भावना नरहेकाले र तुँवालो लागिरहने हुनाले वायुको गुणस्तर खस्कन सक्ने देखिएको हो ।
“तत्काल वर्षाको सम्भावना नहुँदा तराई र उपत्यकामा प्रदूषणको स्तर स्थिर वा बढ्न सक्छ, यसले स्वास्थ्यमा असर पार्न सक्ने भएकाले सर्वसाधारण र सरोकारवाला निकायले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ,” महाशाखाको बुलेटिनमा उल्लेख छ ।
यसैगरी, हिमाली भेगमा हुने हिमपातले चिसो बढाउने हुँदा दैनिक जनजीवन र पदयात्रामा निस्कने पर्यटकहरूलाई विशेष सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् ।