स्वास्थ्य सेवालाई सरल बनाउन आम्दाको भूमिका महत्वपूर्ण छ : केपी शर्मा ओली
दमक, २७ माघ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित आम्दा अस्पतालको मंगलबार अवलोकन गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्रको भ्रमणमा रहनुभएका ओलीले अस्पतालले प्रदान गरिरहेको स्वास्थ्य सेवा, समस्या र समाधानका उपायबारे व्यवस्थापन पक्षसँग छलफल समेत गर्नुभयो ।
अस्पतालको स्थलगत अवलोकनका क्रममा मेडिकल सुपरीटेण्डेण्ट डा. शिखर कट्टेलले अस्पतालको वर्तमान अवस्था, पूर्वाधार विकास र सेवा प्रवाहबारे अध्यक्ष ओलीलाई जानकारी गराउनुभएको थियो । ब्रिफिङका क्रममा डा. कट्टेलले अस्पताल परिसरमा हाल ३ करोड रुपैयाँको लागतमा अत्याधुनिक आईसीयू तथा प्रयोगशाला भवन निर्माण भइरहेको बताउनुभयो । उहाँले आम्दा नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा जोड्न र पूर्वाधार विकासमा पूर्वप्रधानमन्त्री ओलीको महत्वपूर्ण योगदान रहेको स्मरण समेत गर्नुभयो ।
कार्यक्रममा अस्पतालका पूर्व मेसु एवं आम्दा नेपालका सदस्य डा. नविन ढकालले सामुदायिक अस्पतालको रूपमा रहेको आम्दाले पूर्वी नेपालका विभिन्न जिल्लाका नागरिकलाई भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्दै आएको उल्लेख गर्नुभयो ।
अवलोकनपछि बोल्दै अध्यक्ष ओलीले आम नागरिकलाई सरल र सहज ढंगबाट स्वास्थ्य सेवा उपलब्ध गराउन आम्दा अस्पतालले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । अस्पताललाई आगामी दिनमा अझ सुविधासम्पन्न बनाउन आफ्नो तर्फबाट आवश्यक सहयोग रहने आश्वासन समेत उहाँले दिनुभयो ।
अस्पतालको अवलोकनपश्चात् अध्यक्ष ओली झापा निर्वाचन क्षेत्र नं. ५ अन्तर्गत गौरादह नगरपालिकाका विभिन्न वडाहरूमा आयोजना गरिएको मतदाता भेटघाट कार्यक्रमका लागि प्रस्थान गर्नुभएको छ । उहाँ केही दिनदेखि आफ्नो निर्वाचन क्षेत्रका ग्रामीण भेगका मतदाताहरूसँगको प्रत्यक्ष संवाद र भेटघाटमा व्यस्त रहनुभएको छ ।