निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ५१ जनालाई आयोगको स्पष्टीकरण, ३० जनाले बुझाए जवाफ

काठमाडौँ, २८ माघ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनमा कडाइ गरेको छ । आयोगले हालसम्म निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ५१ वटा उजुरीमाथि कारबाही प्रक्रिया अघि बढाउँदै सम्बन्धित पक्षसँग स्पष्टीकरण माग गरेको छ ।

स्पष्टीकरण सोधिएकामध्ये हालसम्म ३० वटा राजनीतिक दल तथा उम्मेदवारले आफ्नो जवाफ पेश गरेको निर्वाचन आयोगले जनाएको छ । आयोगले आचारसंहिता विपरित गतिविधि गर्ने राजनीतिक दल, उम्मेदवार, सरकारी तथा गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारहरूलाई स्पष्टीकरण सोधेको हो ।

आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार दर्ता भएका सञ्चारमाध्यम र तिनमा आबद्ध पत्रकारहरूले आचारसंहिता उल्लङ्घन गरेको पाइएमा कारबाहीका लागि प्रेस काउन्सिल नेपाललाई लेखी पठाइएको छ । काउन्सिलले सञ्चार क्षेत्रको अनुगमन र आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउनेछ ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लामा अनुगमन संयन्त्रलाई सक्रिय बनाइएको छ । आचारसंहिताको प्रभावकारी पालना सुनिश्चित गर्न आयोगले जिल्लास्तरमा निम्नुअनुसार जिम्मेवारी बाँडफाँड गरेको छ:

आर्थिक विषय: जिल्लाका प्रमुख कोष नियन्त्रक वा कोष नियन्त्रकलाई अनुगमन अधिकृतको जिम्मेवारी दिइएको छ ।
गैर-आर्थिक विषय: ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक प्रजिअ) लाई अनुगमन अधिकृत तोकिएको छ ।

आयोगले जिल्लास्तरमा प्राप्त हुने उजुरीमाथि जिल्लाबाटै स्पष्टीकरण सोध्ने र दोषी देखिएमा तत्काल कानुनी कारबाही अघि बढाउन निर्देशन दिएको छ । छोटो समयमै सबै जिल्लामा सरोकारवालाहरूलाई आचारसंहिताबारे जानकारी गराउने र पालनाका लागि प्रतिबद्ध गराउने कार्य प्रभावकारी रूपमा भइरहेको आयोगको दाबी छ ।

आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आचारसंहिताको पूर्ण पालना अनिवार्य रहेको भन्दै आयोगले सबैलाई सचेत गराएको छ ।