‘बेथिति देख्दादेख्दै मुकदर्शक बन्न सकिनँ’ भन्दै रास्वपा नेता प्रणय शमशेरले त्यागे पार्टी

काठमाडौं, २८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आन्तरिक असन्तुष्टि चुलिँदै जाँदा नेता प्रणय शमशेर राणाले पार्टीको साधारण सदस्यता र सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

बिहीबार पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई सम्बोधन गर्दै राणाले आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।

पार्टी स्थापनाकालदेखि नै सक्रिय रहेका राणाले नेतृत्वको कार्यशैली, आन्तरिक लोकतन्त्रको अभाव र आर्थिक अपारदर्शितालाई राजीनामाको मुख्य कारण बताएका छन् ।

राजीनामा पत्रमा राणाले पार्टीभित्रको बेथितिप्रति कडा आक्रोश पोखेका छन् । उनले लेखेका छन्, ‘सबै बेथितिका बाबजुद मुकदर्शक भएर पार्टीमै रहिरहन मेरो विवेक र इमानले नमानेका कारण आजको मितिबाट राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गरेको व्यहोरा जानकारी गराउन चाहन्छु ।’

राणाले प्रतिनिधि सभा निर्वाचनका क्रममा रास्वपाले अपनाएको ‘प्राइमरी इलेक्सन’ को प्रक्रियामा सुरुदेखि नै असन्तुष्टि जनाउँदै आएका थिए । उनले प्राइमरी चुनावमा ५० प्रतिशत चलखेलको बाटो राखिएको र अहिले विशेष परिस्थितिको नाममा तल्लो तहको अधिकार खोसिएको आरोप लगाएका छन् ।

उनले पार्टीको आर्थिक पारदर्शितामाथि पनि गम्भीर प्रश्न उठाएका छन् । ‘१००० सदस्यता शुल्कबाट ३०० पालिकामा आउने भनिएको रकम कहिल्यै आएन,’ राणाले पत्रमा उल्लेख गरेका छन्, ‘प्राइमरीका प्रक्रियामा मात्र नभई त्यसका लागि संकलन गरिएको ठूलो रकममा पनि आर्थिक अपारदर्शिता र अपचलन देखियो ।’

रास्वपाले अघि सारेको ‘बेथितिको अन्त्य र थितिको थालनी’ भन्ने नारा ठीक उल्टो भएको राणाको टिप्पणी छ । उनले केन्द्रमा रहेका पदाधिकारी र अधिकांश केन्द्रीय सदस्यहरू नै बेथितिको साझेदार बनेको आरोप लगाएका छन् ।

पार्टीभित्र प्रश्न उठाउनेहरूको हविगत खराब बनाइएको भन्दै उनले थपेका छन्, ‘सुशासन, जवाफदेहिता र आर्थिक पारदर्शिता अब पार्टीको नारामा मात्र सीमित छ, अभ्यासमा फिटिक्कै छैन ।’ उनले आन्तरिक लोकतन्त्र नै कमजोर भएको पार्टीले भविष्यमा सरकारमा गएर उत्कृष्ट काम गर्छ भन्ने विश्वास आफूमा नरहेको समेत स्पष्ट पारेका छन् ।

पछिल्लो समय रास्वपाभित्र पुराना र त्यागी नेताहरू किनारा लाग्दै गएको र नेतृत्वले स्वेच्छाचारी ढंगले पार्टी चलाएको चर्चा चलिरहँदा राणाको राजीनामालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।