मतपत्र छपाइ अन्तिम चरणमा: ६३ जिल्लाको काम सकियो, आजैदेखि कर्णालीमा मतपत्र ढुवानी सुरु

काठमाडौँ, २ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको कार्य ९० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार ७७ जिल्लामध्ये अब १४ जिल्लाको मात्र मतपत्र छाप्न बाँकी छ ।

भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रमा भइरहेको छपाइ कार्य अन्तर्गत हालसम्म ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र तयार भइसकेको छ ।

आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार हालसम्म प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १ करोड ७१ लाख ६३ हजार थान मतपत्र छापिएको छ । अब काठमाडौँ उपत्यका र आसपासका १४ जिल्लाको मात्र छपाइ बाँकी छ, जुन आगामी तीन दिनभित्र सकिने लक्ष्य राखिएको छ ।

हाल दैनिक ११ देखि १५ लाख थान मतपत्र छपाइ भइरहेको छ भने छापिएका मतपत्रहरूको प्याकिङ कार्य पनि सँगसँगै भइरहेको छ । हालसम्म १५ हजार ३७१ बाकस मतपत्र सुरक्षित रूपमा प्याकिङ भइसकेको आयोगले जनाएको छ ।

छपाइ सम्पन्न भएसँगै आयोगले आजैदेखि मतपत्र ढुवानीको कार्य समेत प्रारम्भ गरेको छ । पहिलो चरणमा कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाइएको छ ।

सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेत रहेका छन् । यी जिल्लाहरूका लागि आवश्यक पर्ने मतपत्र बाकसमा सिल गरी कडा सुरक्षाका बीच पठाइएको हो ।

नमुना मतपत्र: मतदाता शिक्षाका लागि १० लाख ९८ हजार २०० थान (यसअघि नै पठाइसकिएको) ।
समानुपातिक मतपत्र: २ करोड ८ लाख ३० हजार थान (छपाइ र प्याकिङ सम्पन्न) ।

प्रत्यक्ष तर्फ: २ करोड ३ लाख २३ हजार थान (लक्ष्य), जसमध्ये १ करोड ७१ लाख छापिसकिएको छ ।
निर्वाचनको मिति आउन करिब तीन साता मात्र बाँकी रहँदा आयोगले सुरक्षा र ढुवानी व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ । उपत्यका आसपासका जिल्लाहरूको छपाइ सकिएलगत्तै ती क्षेत्रमा पनि मतपत्र पठाइनेछ ।