शिक्षकहरू समाज रूपान्तरणका संवाहक हुन्, एमाले सधैँ साथमा छ : अध्यक्ष ओली

झापा, ३ फागुन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूलाई समाजको चेतना र परिवर्तनको मुख्य संवाहकका रूपमा चित्रण गर्नुभएको छ । आइतबार झापाको दमक–२ स्थित हिमालय माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशको राजनीतिक र सामाजिक आन्दोलनमा शिक्षकहरूको भूमिका ऐतिहासिक रहेको बताउनुभयो ।

आफ्नो विगत स्मरण गर्दै अध्यक्ष ओलीले आफू पनि विसं २०२६ सालमा शिक्षण पेशामा आबद्ध रहेको जानकारी दिनुभयो । “शिक्षण कार्य केवल एउटा जागिर मात्र होइन, यो त समाज बदल्ने एउटा पवित्र र ठूलो अभिभारा पनि हो,” उहाँले भन्नुभयो, “मैले शिक्षक हुँदाको अनुभवबाट बुझेको छु कि एउटा शिक्षकले समाजमा कस्तो गहिरो प्रभाव पार्न सक्छ ।”

ओलीले दुर्गम र शिक्षाको स्तर कम भएका क्षेत्रहरूमा पुगेर शिक्षकहरूले पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्नुभयो । समयानुकूल पारिश्रमिक र सेवा सुविधाको अभावमा पनि शिक्षकहरूले आफ्नो जिम्मेवारीबाट विमुख नभई समाजमा जागरण फैलाएको उहाँको भनाइ थियो ।

नेपालको शिक्षा क्षेत्र र शिक्षकहरूका समस्या समाधानका लागि एमाले सरकारमा हुँदा र नहुँदा पनि उत्तिकै गम्भीर रहेको उहाँले दाबी गर्नुभयो । विगतका शिक्षक आन्दोलनहरूका बारेमा टिप्पणी गर्दै ओलीले भन्नुभयो, “कतिपय अवस्थामा सही योजना र स्पष्ट विषय उठानको अभावमा आन्दोलनले पूर्ण सफलता पाउन सकेन, तर शिक्षकहरूका जायज माग र समग्र हितका लागि एमाले सधैँ शिक्षकहरूको साथमा रहनेछ ।”

निर्वाचनको मुखमा आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय रहनुभएका ओलीले शिक्षकहरूलाई मर्यादित पेशाको गरिमा जोगाउँदै मुलुकको शैक्षिक गुणस्तर सुधारमा केन्द्रित हुन समेत आग्रह गर्नुभयो ।