मुस्ताङमा सदरमुकामदेखि १०० किलोमिटर दूरीमा छन् मतदान केन्द्र, मतपेटिका ल्याउनै सकस

जोमसोम (मुस्ताङ), ४ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा भौगोलिक विकटता मुख्य चुनौतीका रूपमा देखिएको छ । जिल्लाका कतिपय मतदान केन्द्रहरू सदरमुकाम जोमसोमदेखि एक सय किलोमिटरभन्दा बढीको दूरीमा रहेका छन् ।

विशेष गरी नेपाल–चीन सीमावर्ती क्षेत्रमा रहेका माथिल्लो मुस्ताङका दुई गाउँपालिकाका मतदान केन्द्रहरू सदरमुकामबाट निकै टाढा र पहुँचका हिसाबले कठिन रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार लोमान्थाङ गाउँपालिकामा ६ वटा मतदानस्थल छन्, जहाँ २ हजार ११ जना मतदाता रहेका छन् । जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीका अनुसार यी केन्द्रहरूमा पुग्न जोमसोमदेखि सवारीसाधनमार्फत करिब ६ देखि ७ घण्टा समय लाग्छ ।

लोमान्थाङ–२ को समजुङ मतदानस्थललाई भौगोलिक कठिनाइका कारण यसपटक सोही वडाको छोसेरस्थित दिव्य माध्यमिक विद्यालयमा गाभिएको छ । कोरला सडक मार्गमा रहेका केन्द्रहरूमा पहुँच सहज भए पनि शाखा सडकमा रहेका मतदानस्थलमा पुग्न भने सुरक्षाकर्मी र कर्मचारीलाई कठिन हुने देखिएको छ ।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाका मतदान केन्द्रहरूको अवस्था पनि उस्तै छ । यहाँका घिलिङ, घमी र चराङ जस्ता क्षेत्र राजमार्गसँग जोडिए पनि अन्य मतदानस्थलहरू १०० किलोमिटरभन्दा टाढा रहेका छन् ।

मतदान सकिएपछि ती केन्द्रहरूबाट मतपेटिका सङ्कलन गरी जोमसोम ल्याइपुर्‍याउन राति १२ बज्ने अनुमान गरिएको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकामा कुल १ हजार ५४२ मतदाता छन् । यस्तै, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका केन्द्रहरू सदरमुकामबाट करिब ५० किलोमिटरको दूरीमा छन् ।

मुस्ताङको निर्वाचन तथ्याङ्क: यस्ताे छ :
कुल मतदाता: ११,३२८ जना
कुल स्थानीय तह: ५ वटा
कुल मतदानस्थल: ३९ वटा
सबैभन्दा टाढाका पालिका: लोमान्थाङ र लोघेकर दामोदरकुण्ड (१०० किमीभन्दा बढी)
निर्वाचन कार्यालयले भौगोलिक दूरी र प्रतिकूल मौसमका बाबजुद निर्वाचन सामग्री र जनशक्ति व्यवस्थापनको कामलाई तीव्र पारेको छ । विकट क्षेत्रका मतपेटिकाहरू सुरक्षित रूपमा सदरमुकाम ल्याउनका लागि विशेष सुरक्षा योजना र यातायातको प्रबन्ध मिलाइएको प्रशासनले जनाएको छ ।