सब–इन्जिनियर यादवको हत्यापछि मधेश प्रदेशका कर्मचारी आन्दोलित, ‘पेनडाउन’ गरी कामकाज ठप्प
धनुषा, ५ फागुन । सब–इन्जिनियर प्रमोदकुमार यादवको हत्याको विरोधमा भौतिक पूर्वाधार विकास मन्त्रालय, मधेश प्रदेशअन्तर्गतका कर्मचारीहरू आन्दोलित भएका छन् । कर्मचारीहरूले आज हातमा कालोपट्टी बाँधेर ‘पेनडाउन’ गर्दै मन्त्रालय तथा मातहतका कार्यालयको कामकाज पूर्ण रूपमा ठप्प पारेका हुन् ।
पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सब–इन्जिनियर यादवको गत आइतबार राति सर्लाहीको मलङ्गवा नगरपालिका–१० मा अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । सोही घटनाको विरोधमा प्रदेशभरका प्राविधिक तथा प्रशासनिक कर्मचारीहरूले आजदेखि विरोधका कार्यक्रम सुरु गरेका हुन् ।
आन्दोलनमा उत्रिएका कर्मचारीहरूले सार्वजनिक सेवामा खटिएका प्राविधिकमाथि भएको यो सांघातिक आक्रमणले कार्यस्थलको सुरक्षा अवस्था दयनीय रहेको पुष्टि गरेको बताएका छन् । उनीहरूले घटनाको निष्पक्ष र शीघ्र छानबिन गरी दोषीलाई तत्काल पक्राउ गरेर कडा कानुनी कारबाही गर्न सरकारसँग जोडदार माग गरेका छन् ।
कर्मचारीका विभिन्न पेसागत सङ्घ–सङ्गठनले संयुक्त विज्ञप्ति जारी गर्दै घटनालाई गम्भीरतापूर्वक लिन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । विज्ञप्तिमा भनिएको छ, “यस्ता हिंसात्मक घटनाले राष्ट्रसेवक कर्मचारीको मनोबल गिराउने मात्र नभई समग्र सेवा प्रवाहमा समेत प्रत्यक्ष असर पुर्याउने निश्चित छ ।”
कर्मचारीहरूले आफ्नो जीउधनको सुरक्षा ग्यारेन्टी नभएसम्म र दोषीमाथि कारबाही नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन् ।