प्रजातन्त्र दिवसले समृद्धिको लक्ष्य हासिल गर्न मद्दत पुगोस् : राष्ट्रपति पौडेल
काठमाडौँ, ७ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय प्रजातन्त्र दिवसले मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
राष्ट्रपति पौडेलले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनहरूमा अमूल्य जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । साथै, उहाँले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि मार्गप्रशस्त गर्ने अग्रजहरूप्रति उच्च सम्मान र श्रद्धा प्रकट गर्नुभएको छ ।
आफ्नो सन्देशमा राष्ट्रपति पौडेलले आगामी निर्वाचनको महत्त्वलाई विशेष जोड दिनुभएको छ । उहाँले संविधान र लोकतन्त्रको सुदृढीकरणका साथै जनताले चाहेको सुशासन र तीव्र विकासको बाटो पहिल्याउन आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल पार्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभएको छ । उहाँले यस महान् कार्यमा योगदान गर्न सम्पूर्ण देशवासीलाई अपिल समेत गर्नुभएको छ ।
विसं २००७ को क्रान्तिले निरङ्कुशताविरुद्ध प्राप्त गरेको सफलता नै आजको मानवअधिकार र नागरिक स्वतन्त्रताको मुख्य जग भएको राष्ट्रपतिको भनाइ छ । “मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई स्थापित गरेको हुनाले फागुन ७ नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिन हो,” सन्देशमा भनिएको छ ।
राष्ट्रपति पौडेलले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधानको निर्माणमा २००७ सालको क्रान्ति नै आधारस्तम्भ रहेको चर्चा गर्नुभएको छ । उहाँले सात दशकभन्दा लामो सङ्घर्षबाट प्राप्त यी उपलब्धिहरूले सामाजिक न्याय, समानता र बृहत् राष्ट्रिय एकतालाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपालको संविधानले अङ्गीकार गरेको न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मुख्य उद्देश्य भएको उहाँको सन्देशमा उल्लेख छ । सुशासनमार्फत मुलुकको समग्र विकास र समृद्धि नै वर्तमान व्यवस्थाको अभीष्ट भएकाले यसलाई प्राप्त गर्न सबै पक्ष एकताबद्ध भएर लाग्नुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिनुभएको छ ।