प्रजातन्त्र दिवसमा ओलीको आह्वान: स्वाधीनता रक्षा, संविधानको संरक्षण र पुनर्निर्माणलाई मुख्य जिम्मेवारी बनाऔँ
काठमाडौँ, ७ फागुन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना दिँदै वर्तमान समयमा नेपालीहरूका सामु तीनवटा मुख्य जिम्मेवारी रहेको औँल्याउनुभएको छ ।
७५औँ प्रजातन्त्र दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उहाँले मुलुकको स्वाधीनता, संविधानको रक्षा र भौतिक तथा सांस्कृतिक पुनर्निर्माणमा जोड दिनुभएको हो ।
अध्यक्ष ओलीले आजको ऐतिहासिक दिनले हरेक नेपालीलाई देहायका तीन जिम्मेवारी स्मरण गराउने उल्लेख गर्नुभएको छ:
१. राष्ट्रिय स्वाधीनताको रक्षा: नेपालको स्वतन्त्रता र सार्वभौमिकतालाई अक्षुण्ण राख्दै राष्ट्रको गरिमा अन्तर्राष्ट्रिय जगतमा उच्च बनाउने ।
२. संविधान र लोकतन्त्रको संरक्षण: वर्तमान संविधानको पालना गर्दै जनताले प्राप्त गरेका लोकतान्त्रिक अधिकार र मूल्य-मान्यताहरूलाई जीवित राख्ने ।
३. पुनर्निर्माण र सुरक्षा: पछिल्लो समय भएका विभिन्न विध्वंसका कारण क्षतिग्रस्त बनेका राष्ट्रका धरोहर, समृद्ध मानवीय संस्कृति, उद्योग र पूर्वाधारहरूको पुनर्निर्माण गर्दै नागरिकको पूर्ण सुरक्षा सुनिश्चित गर्ने ।
अध्यक्ष ओलीले प्रजातन्त्र दिवसलाई जनताको साहस, त्याग र बलिदानको प्रतिफलका रूपमा स्मरण गर्नुभएको छ । “जहानियाँ राणा शासनको अन्त्य गरी स्वतन्त्रता र अधिकारको बिहानी ल्याउने यो एक ऐतिहासिक दिन हो,” उहाँले भन्नुभएको छ ।
सोही अवसरमा उहाँले प्रजातन्त्रका लागि आफ्नो प्राण आहुति दिने चार वीर शहीदहरू शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठप्रति उच्च सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । ओलीले यस ऐतिहासिक दिनबाट प्रेरणा लिँदै सबै नेपालीलाई जागरूक भएर देश निर्माणमा जुट्न अपिल समेत गर्नुभएको छ ।