वसन्तपुरमा चीर ठड्याएसँगै यस वर्षको फागु (होली) पर्वको विधिवत् सुरुवात
काठमाडौँ, १२ फागुन । काठमाडौँको ऐतिहासिक वसन्तपुर दरबार क्षेत्रमा आज बिहान चीर ठड्याएसँगै यस वर्षको फागु (होली) पर्वको विधिवत् रूपमा सुरुवात भएको छ।
मङ्गलबार बिहान ७ बजेर १३ मिनेटको शुभ साइत पारेर वसन्तपुरमा रङ्गीविरङ्गी कपडाहरू झुन्ड्याइएको चीर ठड्याइएको हो। परम्पराअनुसार फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि चीर ठड्याएपछि उपत्यकालगायत देशभर होली पर्व सुरु भएको मानिन्छ।
रङ्गहरूको पर्वका रूपमा चिनिने फागु पूर्णिमाको दिन उल्लासपूर्वक होली खेल्ने परम्परा छ। वसन्तपुरमा आज ठड्याइएको चीरलाई फागु पूर्णिमाको रात टुँडिखेलमा लगेर विधिवत् रूपमा जलाएपछि यस वर्षको होली पर्व समापन हुनेछ।
