कञ्चनपुरमा घरमाथि रुख ढल्दा च्यापिएर एक महिलाको मृत्यु, एक घाइते
महेन्द्रनगर, १४ फागुन । कञ्चनपुरको वेदकोट नगरपालिकामा कच्ची घरमाथि रुख ढल्दा च्यापिएर एक महिलाको मृत्यु भएको छ भने अर्की एक जना घाइते भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वेदकोट नगरपालिका–३, पेलितालस्थित घर छेउमै रहेको रुख एक्कासि ढलेर घरलाई किच्दा ५० वर्षीया शारदादेवी महताको मृत्यु भएको हो । कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) खड्क खत्रीले रुखले च्यापिएर महताको घटनास्थलमै ज्यान गएको पुष्टि गर्नुभयो ।
सोही घटनामा परी घरभित्रै रहेकी ४० वर्षीया सीता महता घाइते हुनुभएको छ । घाइते महताको उद्धार गरी हाल महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाउनसाथ आज बिहानै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक वासु अवस्थीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाएको छ ।