खैरो हेरोइन र गाँजासहित नौ जनालाई प्रहरीले गर्यो पक्राउ
काठमाडौँ, १४ फागुन । नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित नौ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बुधबार इलाम, झापा, सुनसरी, नवलपरासी (पूर्व) र कैलालीबाट उनीहरूलाई पक्राउ गरिएको हो । सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूबाट खटिएका नियमित गस्ती टोलीले शङ्कास्पद अवस्थामा फेला पारी जाँच गर्ने क्रममा उनीहरूको साथबाट लागूऔषध बरामद भएको थियो ।
पक्राउ परेका अभियुक्तहरूको साथबाट प्रहरीले खैरो हेरोइन (ब्राउन सुगर), गाँजा र चिकित्सकको सिफारिसबिना बिक्रीवितरण तथा प्रयोग गर्न नपाइने विभिन्न नियन्त्रित औषधिहरू बरामद गरेको छ ।
पक्राउ परेका सबै जनामाथि सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूबाट लागूऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।