रामेछापमा निर्वाचन सामग्री बोकेको गाडी दुर्घटना : असईको मृत्यु, ७ जना घाइते

मन्थली (रामेछाप), १८ फागुन । रामेछाप नगरपालिका–२ सिरूबारीमा निर्वाचन सामग्री र कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा एक प्रहरी अधिकृतको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । सोमबार अपराह्न ४ बजेतिर भएको उक्त दुर्घटनामा परी प्रहरी सहायक निरीक्षक (असई) पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) एवं सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार मन्थलीबाट मतदान केन्द्रतर्फ निर्वाचन सामग्री र कर्मचारी लिएर जाँदै गरेको गाडी सडकबाट करिब २०० मिटर तल खसेको थियो । उक्त गाडीमा ११ जना सवार रहेकोमा दुर्घटना हुन लागेपछि तीन जनाले हाम फालेर ज्यान जोगाएका थिए । बाँकी ८ जनामध्ये यादवको मृत्यु भएको र ७ जना घाइते भएको प्रहरीले जनाएको छ ।

उक्त गाडी कालिका देवी माध्यमिक विद्यालय र देउराली माध्यमिक विद्यालयका मतदान केन्द्रका लागि निर्वाचन सामग्री बोकेर हिँडेको थियो । घटनालगत्तै सशस्त्र प्रहरी बलको विपद् उद्धार वेश खुर्कोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक रमेश बहादुर थापाको नेतृत्वमा गोताखोरसहितको टोली उद्धारमा खटिएको थियो ।

सशस्त्र र नेपाल प्रहरीको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि मन्थली अस्पताल पठाएको छ । निर्वाचनको पूर्वसन्ध्यामा भएको यस दुःखद घटनाले जिल्लाको सुरक्षा र निर्वाचन व्यवस्थापनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीहरू स्तब्ध भएका छन् ।