आज दिनभर साधारणतया बादल लाग्ने, पहाडी र हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, २६ फागुन । हाल नेपालमा तीनवटा वायुमण्डलीय प्रणालीको आंशिक प्रभाव रहेकाले आज देशभरको मौसममा फेरबदल आउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिमी वायु, उपल्लो वायुमण्डलको उच्चचापीय प्रणाली र पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रका कारण आज वर्षा र हिमपातको सम्भावना देखिएको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली (बादल लाग्ने) रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
त्यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका साथै लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा समेत हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाको बुलेटिनमा उल्लेख छ ।
आज राति गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी र हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली हुनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनीका उच्च पहाडी तथा हिमाली क्षेत्र र लुम्बिनीको तराईका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना यथावत रहेको छ ।
वर्षा र हिमपातसँगै मेघगर्जन र चट्याङ पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।