इरानसँगको युद्ध यो साता सकिने सम्भावना कम, तर छिट्टै अन्त्य हुने ट्रम्पको दाबी
एजेन्सी, ३ चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाही यसै साता अन्त्य हुने सम्भावना नरहेको बताउनुभएको छ। यद्यपि, उहाँले यो द्वन्द्व धेरै नलम्बिने र ‘छिट्टै अन्त्य हुने’ दाबी भने दोहोर्याउनुभएको छ।
सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युद्धको समयावधिबारे सोधिएको प्रश्नको जवाफमा भन्नुभयो, “मलाई यो साता नै युद्ध सकिन्छ जस्तो लाग्दैन, तर यो चाँडै अन्त्य हुनेछ। यसले धेरै समय लिनेछैन।”
सोही क्रममा राष्ट्रपति ट्रम्पले विश्वको करिब २० प्रतिशत कच्चा तेल आपूर्ति हुने अति महत्त्वपूर्ण समुद्री मार्ग ‘होर्मुज जलडमरूमध्य’को सुरक्षाका लागि अमेरिकाले प्रस्ताव गरेको गठबन्धनमा सामेल हुने देशहरूको नाम चाँडै सार्वजनिक गर्ने जानकारी दिनुभयो।
तर, उक्त प्रस्तावित सुरक्षा गठबन्धनमा सामेल हुन अमेरिकाका थुप्रै साझेदार देशहरूले अनिच्छा देखाएका छन् वा स्पष्ट समर्थन जनाउन अस्वीकार गरेका छन्। ट्रम्पले युरोपेली सहयोगी राष्ट्रहरूको यस्तो हिचकिचाहटप्रति असन्तुष्टि जनाउँदै कडा आलोचना समेत गर्नुभयो।
यसैबीच, युरोपेली संघ (ईयू) की शीर्ष कूटनीतिज्ञ काया कालासले ब्रसेल्समा प्रतिक्रिया दिँदै लामो समयसम्म चल्ने युद्धमा युरोपको कुनै रुचि नरहेको स्पष्ट पार्नुभएको छ। उहाँले यो युद्ध युरोपको प्रत्यक्ष युद्ध नभए पनि यसले पार्ने प्रभाव युरोपको आर्थिक तथा रणनीतिक हितसँग जोडिएको उल्लेख गर्नुभयो।
गत फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि व्यापक सैन्य आक्रमण सुरु गरेका थिए। त्यसयता मध्यपूर्वमा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय जलमार्गमा व्यापारिक पानीजहाजहरूको आवागमन प्रभावित भएको छ भने विश्व बजारमा तेलको मूल्यमा भारी वृद्धि हुनुका साथै समग्र विश्व अर्थतन्त्रमै अस्थिरताको जोखिम बढेको छ।