कार्की आयोगको प्रतिवेदन पूर्वाग्रही र प्रतिसोधपूर्ण: महासचिव शंकर पोखरेल

काठमाडौँ, ४ चैत । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले भदौ २३ र २४ को घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगको प्रतिवेदनमाथि कडा टिप्पणी गर्नुभएको छ।

उहाँले प्रतिवेदनका नाममा बाहिर आएका विषयवस्तुले आयोगको ‘अयोग्यता र पूर्वाग्रह’लाई उदाङ्गो पारेको आरोप लगाउनुभएको हो।

महासचिव पोखरेलले बुधबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कुनै पनि अनुसन्धानको आधार तथ्य र प्रमाण हुनुपर्नेमा जोड दिनुभएको छ। उहाँले प्रतिवेदन पूर्वाग्रह र प्रतिसोधको भावनाबाट प्रेरित भएको दाबी गर्नुभएको छ।

“कार्की आयोगको प्रतिवेदनका नाममा जे कुरा बाहिर आइरहेका छन्, त्यसले आयोगका सदस्यको अयोग्यता र पूर्वाग्रहलाई उजागर गरिरहेको छ,” उहाँले लेख्नुभएको छ, “पूर्वाग्रह र प्रतिसोध होइन, तथ्य र प्रमाण अनुसन्धानका आधार हुन्।”

सरकारले भदौ २३ र २४ गते भएका राजनीतिक घटनाक्रमको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो। उक्त आयोगले लामो समयको अध्ययनपछि गत फागुन २४ गते नै सरकारलाई प्रतिवेदन बुझाइसकेको छ। प्रतिवेदनका केही अंशहरू सार्वजनिक भएसँगै एमाले नेतृत्वले यसलाई राजनीतिक प्रतिसोधको रूपमा व्याख्या गर्दै असन्तुष्टि व्यक्त गरेको हो।

महासचिव पोखरेलको यो भनाइले प्रतिवेदन कार्यान्वयनको विषयलाई लिएर आगामी दिनमा राजनीतिक बहस र विवाद अझ बढ्न सक्ने सङ्केत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *