मध्यपहाडी लोकमार्गमा जीप दुर्घटना: सात जना घाइते, धौलागिरि अस्पतालमा उपचार हुँदै
बागलुङ, ४ चैत । बागलुङ नगरपालिका–४ रातमाटास्थित मध्यपहाडी लोकमार्गमा बुधबार दिउँसो बोलेरो जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । गलकोट नगरपालिका–३ हटियाबाट बागलुङ बजारका लागि छुटेको लु ३ च ५१५० नम्बरको पिकअप जीप अनियन्त्रित भई दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार दुर्घटनामा परी जीपमा सवार सबै सातै जना घाइते भएका छन् । घाइते हुनेहरूमा गलकोट–३ का २५ वर्षीय चालक यादव खत्री, ५६ वर्षीय देवबहादुर केसी, ७३ वर्षीया दिलकुमारी सहनी, २६ वर्षीया सारदा खत्री, २४ वर्षीय रोशन थापा, ७३ वर्षीय कुलबहादुर सहनी र २२ वर्षीय करण सहनी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) बसन्त पाण्डेका अनुसार दुर्घटनालगत्तै प्रहरी टोली खटिएर घाइतेहरूको उद्धार गरेको थियो । “जीपमा सवार सबै यात्रु घाइते हुनुभएको छ, उहाँहरूको शरीरका विभिन्न भागमा चोट लागेको छ,” डिएसपी पाण्डेले भन्नुभयो, “उद्धारपश्चात् सबै घाइतेहरूलाई उपचारका लागि धौलागिरि प्रादेशिक अस्पताल बागलुङ पठाइएको छ ।”
प्रहरीका अनुसार ओरालो र घुम्ती सडकमा जीप अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।