भन्सार छलीको सामान समातेको झोकमा कैलालीको टीकापुरमा सशस्त्रको ब्यारेकमै पसेर डीएसपीमाथि हातपात
धनगढी, ५ चैत । कैलालीको टीकापुरस्थित खक्रौला भन्सारमा रहेको सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्ममा स्थानीय व्यापारीहरूको समूहले आक्रमण गरेको छ । भारतबाट भन्सार छलेर ल्याइएको सामान बरामद गरेको झोकमा आक्रोशित समूहले ब्यारेकभित्रै पसेर गुल्मपति (डीएसपी) प्रदीप पौडेलमाथि हातपात गरेको हो ।
स्थानीय प्रत्यक्षदर्शी र सशस्त्र प्रहरी स्रोतका अनुसार, बुधबार १५ जनाभन्दा बढीको सङ्ख्यामा आएका व्यापारीहरूको समूहले गुल्मको मूल गेट तोडफोड गर्दै भित्र प्रवेश गरेको थियो । ब्यारेकभित्र पसेको उक्त अनियन्त्रित समूहले डीएसपी पौडेलमाथि दुर्व्यवहार तथा हातपात गरेको हो ।
सशस्त्र प्रहरी सुदूरपश्चिम बाहिनीका एक अधिकृतका अनुसार, गुल्मको सुरक्षा टोलीले मंगलबार भारतबाट अवैध रूपमा ल्याइएको ५६ हजार रुपैयाँभन्दा बढी मूल्य बराबरको सामान बरामद गरेको थियो । पछिल्लो समय सशस्त्र प्रहरीले सीमा नाकामा राजस्व तथा भन्सार छलीविरुद्ध कडाइ अभियान थालेको छ । “भन्सार छलीमा कडाइ गरिएपछि अवैध कारोबारमा संलग्न व्यापारीहरू सशस्त्र प्रहरीसँग रुष्ट हुँदै आएका थिए,” ती अधिकृतले भने, “सोही रिसइबी साँध्न उनीहरूले अकस्मात् ब्यारेकमै पसेर गुल्मपतिमाथि हातपात गरेका हुन् ।”
यसैबीच, सशस्त्र प्रहरी बलले सुरक्षा बेसभित्रै प्रवेश गरेर गुल्मपतिमाथि भएको आक्रमणको घटनालाई गम्भीर रूपमा लिँदै छानबिन अघि बढाएको छ ।
सुरक्षा निकायको ब्यारेकमै घुसेर व्यापारीले आक्रमण गरेपछि खक्रौला नाकाको सुरक्षा व्यवस्था र भन्सार छलीको जालोलाई लिएर गम्भीर प्रश्न उठेको छ । प्रहरीले आक्रमणमा संलग्नहरूको खोजी तथा अनुसन्धान गरिरहेको जनाएको छ ।