पश्चिमी न्यून चापीय प्रणाली सक्रिय: पहाडी र हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, ६ चैत । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशभरको मौसममा फेरबदल आएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका अधिकांश स्थानमा बदली भई वर्षा र हिमपातको सम्भावना देखिएको छ ।

अहिले कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बदली रहेको छ भने कोशी र बागमतीका पहाडी भेगमा आंशिक बदली देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली (बादल लाग्ने) रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानका साथै गण्डकी, लुम्बिनी र कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा मेघगर्जन, चट्याङ र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने महाशाखाको बुलेटिनमा उल्लेख छ । अन्य प्रदेशका पहाडी भेगमा पनि हल्का वर्षाको सम्भावना छ ।

आज राति पनि देशभरको मौसम बदली रहनेछ । कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको प्रक्षेपण गरिएको छ ।

वर्षा, हिमपात र चट्याङको जोखिमलाई मध्यनजर गर्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैमा अपिल गरेको छ । विशेषगरी कृषि कार्यमा संलग्न किसान, पहाडी तथा हिमाली भेगमा यात्रा गर्ने पर्यटक र यातायातका साधन सञ्चालकहरूलाई मौसमी अवस्था बुझेर मात्र आफ्ना गतिविधि सञ्चालन गर्न र उच्च सावधानी अपनाउन अनुरोध गरिएको छ ।