डोल्पामा अवैध ३५ क्विन्टल ‘पदमचाल’सहित ४ जना पक्राउ
३५ क्विन्टल ‘पदमचाल’
डोल्पा, ९ चैत । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाबाट अवैध रूपमा सङ्कलन गरिएको ठूलो परिमाणको जडीबुटीसहित चार जनालाई पक्राउ गरिएको छ। शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रबाट लुकाएर जिल्ला बाहिर लैजान लागिएको करिब ३५ क्विन्टल ‘पदमचाल’सहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
नेपाली सेना र निकुञ्ज प्रशासनको संयुक्त गस्ती टोलीले आज (९ चैत) बिहान साढे ३ बजे त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित त्रिपुराकोट क्षेत्रमा छापा मारेको थियो। श्री सङ्ग्राम सार्दुल गुल्मका उपसेनानी सुशील दाहालको कमान्डमा खटिएको सेना र निकुञ्जका सिनियर गेम स्काउटसहितको टोलीले जडीबुटी ओसारपसारमा प्रयोग गरिएका दुईवटा ट्याक्टरसमेत नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरूमा डोल्पाको त्रिपुरासुन्दरी–५ का ३६ वर्षीय नरेश बुढा र ३३ वर्षीय विकास रोकाया रहेका छन्। यसैगरी, ट्याक्टर चालकहरू सल्यान कुमाख गाउँपालिका–४ का २५ वर्षीय एलिश बुढा र रुकुम पश्चिम आठबिस नगरपालिका–७ का ४८ वर्षीय कृष्ण विकलाई पनि टोलीले नियन्त्रणमा लिएको छ।
श्री सङ्ग्राम शार्दूल गुल्मका गुल्मपति (सेनानी) हरिश शाहीका अनुसार, पक्राउ परेका चारै जना र बरामद सामग्रीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि दोहोरो भरपाइ गरी शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज प्रशासनको जिम्मा लगाइएको छ।
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत विज्ञान सेनले निकुञ्जको अनुमतिबिना जडीबुटी सङ्कलन गरी तस्करी गर्न लागिएको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको बताए। उनले भने, “पछिल्लो समय डोल्पामा जठामसी (भुल्ते) सङ्कलनमा पूर्ण प्रतिबन्ध छ। पदमचालको हकमा पनि कार्ययोजना अध्ययन गरी उपयुक्त क्षेत्र पहिचान गरेपछि मात्र सङ्कलन अनुमति दिने कानुनी व्यवस्था छ, तर उनीहरूले अनुमतिबिना नै सङ्कलन गरेको पाइयो।” यस विषयमा निकुञ्ज प्रशासनले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।
