अध्यक्ष ओली पक्राउको विरोधमा एमालेद्वारा देशभर प्रदर्शन, ७७ वटै जिल्लामा ज्ञापनपत्र

काठमाडौँ, १५ चैत्र । पार्टी अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीको विरोध गर्दै नेकपा (एमाले) ले देशभर प्रदर्शन गरेको छ । अध्यक्ष ओलीको विनाशर्त रिहाइको माग गर्दै एमालेले आइतबार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

काठमाडौँमा माइतीघर मण्डलाबाट सुरु भएको विरोध र्‍याली बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय पुगेर कोणसभामा परिणत भएको थियो । र्‍यालीपछि एमालेका नेता तथा कार्यकर्ताहरूले काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललाई ज्ञापनपत्र बुझाएका थिए ।

पाल्पामा जिल्ला अध्यक्ष ओमबहादुर घर्ती मगरको नेतृत्वमा गएको टोलीले प्रजिअलाई ५ बुँदे ज्ञापनपत्र बुझाएको छ । गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनप्रति सर्वोच्च अदालतले नै प्रश्न उठाएको अवस्थामा, प्रतिवेदन सार्वजनिक नै नगरी प्रतिशोधपूर्ण ढंगले अध्यक्ष ओलीलाई पक्राउ गरिएको एमालेको ठहर छ । ज्ञापनपत्रमा उक्त पूर्वाग्रही प्रतिवेदन तत्काल खारेज गर्न माग गरिएको छ ।
यसका अतिरिक्त ज्ञापनपत्रमा जनजीविका र राष्ट्रियताका मुद्दा पनि समेटिएका छन् । बजारमा देखिएको ग्यास तथा इन्धनको अभाव तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । त्यसैगरी, अध्यक्ष ओली प्रधानमन्त्री हुँदा नेपालको नक्सामा समेटिएका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा हाल चीन र भारतले भौतिक संरचना निर्माण गरिरहेको खबर आउँदा समेत सरकार मौन बसेको भन्दै एमालेले गम्भीर आपत्ति जनाएको छ ।

देशका अन्य जिल्लाहरूमा पनि एमालेले आक्रामक प्रदर्शन गरेको छ । मधेस प्रदेशको बारामा जिल्ला अध्यक्ष अध्यानन्द पाण्डेको नेतृत्वमा पार्टी कार्यालयबाट निकालिएको जुलुसले प्रजिअलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा ओलीको गिरफ्तारीलाई ‘राजनीतिक प्रतिशोध’ को संज्ञा दिँदै अन्यायविरुद्ध निरन्तर संघर्ष गर्ने चेतावनी दिइएको छ ।

मोरङमा पार्टी अध्यक्ष सागर थापाको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा वर्तमान सरकारले पहिलो पाइलामै लोकतान्त्रिक शक्तिहरूमाथि प्रहार सुरु गरेको आरोप लगाइएको छ । उता, बर्दियामा पार्टी अध्यक्ष शालिकराम अधिकारीले यस कदमलाई ‘सिंगो कम्युनिस्ट आन्दोलनप्रतिको प्रहार’ भनेका छन् । चितवनमा अध्यक्ष कमलराज पाठक नेतृत्वको टोलीले सरकारले आयोगको प्रतिवेदन अध्ययन नै नगरी धरपकड गर्नु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको निष्कर्ष निकालेको छ ।

यसैगरी, सुर्खेतमा प्लेकार्डसहितको र्‍याली निकालिएको छ भने झापाको चन्द्रगढीमा जुलुससहित नेता–कार्यकर्ता प्रशासन कार्यालय पुगेका थिए । दाङ लगायत देशका अन्य सबै जिल्लाहरूमा पनि विरोध प्रदर्शनसहित ज्ञापनपत्र बुझाउने कार्यक्रम सम्पन्न भएको एमालेका स्थानीय कमिटीहरूले जनाएका छन् ।