बाँकेका १३ उम्मेदवारले अझै बुझाएनन् निर्वाचन खर्च विवरण
नेपालगञ्ज, १५ चैत । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँके जिल्लाबाट उम्मेदवार बनेका ५६ मध्ये ४३ जनाले मात्र आफ्नो निर्वाचन खर्चको विवरण बुझाएका छन् । बाँकी १३ जना उम्मेदवारले अझै विवरण बुझाउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी युवराज पन्तका अनुसार जिल्लाका तीनवटै निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कुल ५६ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
निर्वाचन कानुनअनुसार अन्तिम मतपरिणाम घोषणा भएको एक महिनाभित्र सम्पूर्ण उम्मेदवारले आफ्नो निर्वाचन खर्चको विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने प्रावधान छ । सोही प्रावधानअनुसार बाँकेका उम्मेदवारहरूले आगामी चैत २३ गतेभित्र खर्च विवरण बुझाइसक्नुपर्ने समयसीमा रहेको सूचना अधिकारी पन्तले जानकारी दिए ।
उक्त निर्वाचनमा बाँके क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुरेशकुमार चौधरी, क्षेत्र नम्बर २ बाट नेकपा (एमाले) का मोहम्मद इश्तियाक राई र क्षेत्र नम्बर ३ बाट रास्वपाकै खगेन्द्र सुनार प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।