म्याग्दीको प्रभुचेला आध्यात्मिक पर्यटकीय गन्तव्य बन्दै: रु एक करोडको लगानीमा ‘योगध्यान केन्द्र’ तयार

म्याग्दी, १६ चैत । म्याग्दीको मालिका गाउँपालिका–७ स्थित प्रभुचेला क्षेत्रलाई योग र ध्यानको विशिष्ट केन्द्रका रूपमा विकास गरिएको छ । गण्डकी प्रदेश सरकार र स्थानीय समुदायको रु एक करोडभन्दा बढीको लगानीमा आवश्यक भौतिक पूर्वाधार निर्माण भएसँगै यो क्षेत्र तनाव व्यवस्थापन र आध्यात्मिक साधनाका लागि प्रमुख गन्तव्य बन्न थालेको हो ।

बस्तीदेखि टाढा, शान्त र एकान्त वातावरणमा रहेको प्रभुचेलामा हालै खाने, बस्ने र योगध्यान गर्ने संरचनाहरू तयार पारिएका छन् । प्रभुचेला धुरी ध्यानाश्रम समितिका अध्यक्ष टीकाबहादुर जुग्जाली (नवीन) का अनुसार आधुनिक व्यस्त जीवनशैलीका कारण उत्पन्न हुने मानसिक तनाव कम गर्न र शारीरिक स्वास्थ्य सुधार्न यो केन्द्र निकै उपयोगी देखिएको छ ।

केन्द्रको प्रचारप्रसार र उपयोगका लागि समितिको आयोजनामा आइतबार आहार, विहार र विचारसम्बन्धी तीनदिने योग शिविर सम्पन्न भएको छ । म्याग्दी र पर्वतका ५० जना योग साधक सहभागी रहेको उक्त शिविरमा आयुर्वेद चिकित्सक डा. बिपी तिम्लिसिनाले योग, ध्यान र जीवनशैली व्यवस्थापनबारे प्रशिक्षण दिनुभएको थियो । शिविरमा सहभागी साधकहरूले प्राकृतिक वातावरणमा गरिने ध्यानले मनमा छुट्टै ऊर्जा र उमङ्ग पैदा गर्ने अनुभव सुनाएका थिए ।

प्रभुचेला क्षेत्रको ऐतिहासिक महत्व निकै पुरानो रहेको छ । चार वर्षअघि गरिएको एक अध्ययनले यो क्षेत्र प्राचीन कालमा ऋषिमुनिहरूले तपस्या गर्ने स्थल रहेको तथ्य पहिचान गरेको थियो । विशेषगरी स्वर्गद्वारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले वि.सं. १९७० देखि १९७५ सम्म यहाँ बसेर कठोर तपस्या गर्नुभएको थियो । उहाँले प्रयोग गरेका कुटी, साधनास्थल र हवन कुण्डका भग्नावशेषहरू अहिले पनि यहाँ सुरक्षित छन् ।

समुद्र सतहदेखि दुई हजार ४०० मिटरको उचाइमा रहेको यो स्थलबाट धवलागिरि र गुर्जा हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । जिल्लाको बिम गाउँबाट ३० मिनेटको सवारी यात्रा वा दुई घण्टाको पैदल यात्रापछि प्रभुचेला पुग्न सकिन्छ ।

प्रदेश सरकार र समुदायको लगानीमा यहाँ गोलघर र व्यवस्थित आश्रयस्थलहरू निर्माण गरिएका छन् । यी संरचना बनेपछि हिउँ, पानी वा चर्को घामको समयमा पनि तपस्वी र पर्यटकलाई बस्न सहज भएको छ । पूर्वाधार निर्माणसँगै प्रभुचेलालाई नेपालको एक महत्वपूर्ण ‘आध्यात्मिक हब’ का रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।