इरानमाथि अझै २–३ हप्ता ‘कडा’ आक्रमण हुने ट्रम्पको चेतावनी, इरानलाई ‘पाषाण युग’मा फर्काउने धम्की

एजेन्सी, १९ चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध निर्णायक मोडमा पुगेको दाबी गर्दै आगामी दुईदेखि तीन हप्तासम्म ‘अत्यन्त कडा’ आक्रमण जारी रहने चेतावनी दिएका छन्। ट्रम्पको यो अभिव्यक्तिले युद्ध अन्त्यको नजिक पुगेको संकेत गरे पनि अन्तर्राष्ट्रिय स्तरमा भने यसले थप त्रास र अनिश्चितता बढाएको छ।

बुधबार साँझ ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले अमेरिका आफ्नो लक्ष्य हासिल गर्ने चरणमा पुगेको बताए। यद्यपि, उनले यो युद्ध कहिले र कसरी टुङ्गिन्छ भन्नेबारे कुनै स्पष्ट खाका भने प्रस्तुत गरेनन्। ‘काम छिट्टै पूरा हुनेछ’ भन्दै उनले इरानमाथिको अमेरिकी आक्रमण अझै तीव्र पारिने संकेत गरेका छन्।

सम्बोधनका क्रममा ट्रम्पले इरानको सैन्य क्षमता कमजोर पार्ने, क्षेत्रीय सशस्त्र समूहहरूलाई दिइँदै आएको समर्थन रोक्ने र इरानलाई आणविक हतियार प्राप्त गर्न नदिने अमेरिकी रणनीति रहेको स्पष्ट पारे। यद्यपि, राष्ट्रसंघीय निकाय र विश्लेषकहरूले इरान तत्काल आणविक हतियार बनाउने अवस्थामा नरहेको बताउँदै आएका छन्।

द्वन्द्वको सुरुवाती चरणमै इजरायलद्वारा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या भएको घटनालाई ट्रम्पले ठूलो सफलताको रूपमा अर्थ्याए। उनले इरानको ‘धेरैजसो नेतृत्व तह समाप्त भइसकेको’ दाबीसमेत गरे।

यता, इरानले पनि विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने प्रमुख मार्ग ‘होर्मुज जलडमरूमध्य’मा आफ्नो नियन्त्रण बढाएर रणनीतिक जवाफ दिइरहेको छ। यसको प्रत्यक्ष असर विश्व बजारमा पर्न थालेको छ। बिहीबारको प्रारम्भिक कारोबारमा तेलको मूल्यमा वृद्धि भएको छ भने सेयर बजारमा अनिश्चितता छाएको छ। अमेरिकाभित्रै पेट्रोलको मूल्य वर्षौंपछि प्रतिग्यालन ४ डलरभन्दा माथि पुगेको छ। युद्ध लम्बिएसँगै अमेरिकामा ट्रम्पको लोकप्रियता (स्वीकृति दर) घट्दै गएको छ र सर्वसाधारणले आर्थिक दबाब महसुस गर्न थालेका छन्।

ट्रम्पले इरानसँग सम्झौता नभए त्यहाँका ऊर्जा पूर्वाधारमाथि नै आक्रमण गर्न सकिने खतरनाक संकेत दिएका छन्। “हामी उनीहरूलाई पाषाण युगमा फर्काउनेछौँ,” उनले कडा भाषामा भने। ट्रम्पको यस्तो कदम अन्तर्राष्ट्रिय कानुनविपरीत हुने र युद्ध अपराध ठहरिन सक्ने विश्लेषकहरूको भनाइ छ।

ट्रम्पको रणनीतिको अमेरिकाभित्रै आलोचना हुन थालेको छ। अमेरिकी सिनेटर क्रिस मर्फीले ट्रम्पले युद्धलाई विस्तार गर्न खोजेको हो कि घटाउन खोजेको हो भन्ने नै अस्पष्ट रहेको भन्दै सामाजिक सञ्जालमार्फत उनको नीतिको आलोचना गरेका छन्।

सम्बोधनका क्रममा ट्रम्पले इरानी राष्ट्रपति मसुद पेजेस्कियानले युद्धविरामको खोजी गरिरहेको दाबी गरे पनि इरानको विदेश मन्त्रालयले त्यसको खण्डन गरेको छ। इरानले अमेरिकाले आफूमाथि ‘अवास्तविक र अधिकतम दबाब’ सिर्जना गर्न खोजेको आरोप लगाएको छ।

अन्त्यमा, ‘सबै कार्ड अमेरिकासँगै सुरक्षित रहेको’ दाबी गर्दै ट्रम्पले खाडी क्षेत्रका आफ्ना सहयोगी राष्ट्रहरूलाई आश्वस्त पार्ने प्रयास गरे। तर, अमेरिकी युद्ध प्रयासलाई समर्थन नगरेको भन्दै उनले आफ्ना युरोपेली सहयोगी राष्ट्रहरूको भने कडा आलोचना गरेका छन्।