डुम्रे–बेँसीसहर सडक भोलिदेखि दैनिक ८ घण्टा बन्द हुने, यस्तो छ समयतालिका

तनहुँ, २० चैत । डुम्रे–बेँसीसहर सडकखण्डअन्तर्गत तनहुँको भानु नगरपालिकामा पर्ने कुकुर्दी–तुरतुरे खण्ड भोलिदेखि १० दिनका लागि दैनिक आठ घण्टा बन्द हुने भएको छ ।

सडक विस्तार एवं स्तरोन्नति कार्यलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँले सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको हो ।

प्रशासनले जारी गरेको सूचनाअनुसार यही चैत २१ गतेदेखि ३० गतेसम्म दुई चरणमा गरी दैनिक आठ घण्टा सडक अवरुद्ध हुनेछ ।
सडक बन्द हुने समय:
दिउँसो: १२:०० बजेदेखि ४:०० बजेसम्म
साँझ/राति: ५:०० बजेदेखि ९:०० बजेसम्म

भानु नगरपालिका–३ स्थित कुकुर्दीदेखि तुरतुरेसम्मको सडक खण्ड विस्तारका क्रममा निर्माण कार्यमा अवरोध नहोस् र सम्भावित जोखिम टरोस् भन्नका लागि यो व्यवस्था मिलाइएको हो । प्रशासनले सडक बन्द हुने समयमा सम्भव भएसम्म वैकल्पिक मार्गको प्रयोग गर्न र आफ्नो यात्राको समय तालिका सोहीअनुसार व्यवस्थापन गर्न यात्रु तथा सवारी चालकहरूलाई आग्रह गरेको छ ।

यो सडकखण्ड लमजुङ र मनाङ जोड्ने मुख्य मार्ग भएकाले बन्दको समयमा अत्यावश्यक बाहेकका सवारी साधनलाई सुरक्षित स्थानमा ‘होल्ड’ गरिने प्रहरीले जनाएको छ ।