‘स्मार्ट सिटी’को आधार: सूर्यविनायकका सबै घरमा क्यूआर कोडसहितको डिजिटल नम्बर जडान सुरु
भक्तपुर, २२ चैत । भक्तपुरको सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रलाई व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ ‘डिजिटल घर नम्बर’ जडान अभियान सुरु गरेको छ । चालु आर्थिक वर्षभित्रै नगरका सबै घरलाई डिजिटल प्रणालीमा आबद्ध गर्ने लक्ष्यका साथ नगरपालिकाले यो अभियानलाई तीव्रता दिएको हो ।
नगरपालिकाका प्रमुख वासुदेव थापाले आइतबार वडा नम्बर १० चित्तपोलस्थित आफ्नै घरमा डिजिटल नम्बर प्लेट टाँसेर यस अभियानको औपचारिक शुभारम्भ गर्नुभयो । आधुनिक प्रविधिको प्रयोगमार्फत नगरका सबै बस्तीलाई व्यवस्थित बनाउन यो कदम चालिएको नगर कार्यालयले जनाएको छ ।
अभियानको शुभारम्भ गर्दै नगरप्रमुख थापाले सूर्यविनायकलाई ‘स्मार्ट सिटी’का रूपमा विकास गर्ने आधारस्तम्भका रूपमा डिजिटल घर नम्बरिङलाई लिइएको बताउनुभयो । “नगरलाई व्यवस्थित र पारदर्शी बनाउन प्रविधिको विकल्प छैन,” उहाँले भन्नुभयो, “यो प्रणालीले नागरिकलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउन ऐतिहासिक भूमिका खेल्नेछ ।”
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यका अनुसार डिजिटल म्यापिङ र घर नम्बरिङ प्रणालीले नगरको समग्र तथ्याङ्क व्यवस्थापनलाई वैज्ञानिक बनाउनेछ । “यसले सेवा प्रवाहलाई द्रुत बनाउनुका साथै आपत्कालीन सेवा (एम्बुलेन्स, दमकल) लाई लक्षित स्थानमा विना अलमल छिटो पुग्न ठूलो सहयोग पुर्याउनेछ,” आचार्यले जानकारी दिनुभयो ।
के छ क्यूआर कोडमा ?
जडान गरिने प्रत्येक डिजिटल प्लेटमा ‘क्यूआर कोड’ (QR Code) समावेश गरिएको छ । उक्त कोड स्क्यान गर्दा घरको विस्तृत विवरण, ठेगाना, परिवारको सङ्ख्या र नक्सा समन्वय (GPS Coordinates) जस्ता सूचनाहरू डिजिटल रूपमा प्राप्त गर्न सकिनेछ ।
यो प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आएपछि कर सङ्कलन, योजना निर्माण, विपद् व्यवस्थापन तथा सामाजिक सुरक्षा भत्ता वितरण जस्ता कार्यहरू थप प्रभावकारी र त्रुटिरहित हुने नगरपालिकाको विश्वास छ । प्रविधिको यो उच्चतम प्रयोगसँगै सूर्यविनायक नगरपालिका डिजिटल रूपान्तरणको दिशामा एक कदम अगाडि बढेको छ ।