मार्ग खुलेको १६ वर्षपछि पखेर–बरङ्जा सडकको स्तरोन्नति : यात्रा आधा छोटियो, किसानलाई राहत
म्याग्दी, २२ चैत । म्याग्दीको मङ्गला गाउँपालिका–३, बरङ्जामा ट्र्याक (मार्ग) खुलेको १६ वर्षपछि सडकको स्तरोन्नति गरिएको छ । मङ्गला गाउँपालिकाका वडा नम्बर ३ र ४ लाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने ‘पखेर–बरङ्जा सडक’ अन्तर्गत पखेर–आलडाँडा खण्डको स्तरोन्नति सम्पन्न भएको हो ।
वि.सं. २०६६ मा कच्ची मार्ग खोलिएको यो सडक यसअघि निकै साँघुरो र जोखिमपूर्ण थियो । गण्डकी प्रदेश सरकारको लगानीमा पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत साढे तीन किलोमिटर (३.५ किमी) सडक ग्राभेल र ढलान गरिएको छ । साविकको ३ देखि साढे ३ मिटर मात्र चौडाइ रहेको सडकलाई फराकिलो बनाएर ७ मिटर पुर्याइएको छ भने आवश्यक स्थानमा नाली र टेवा पर्खालसमेत निर्माण गरिएको छ । जोखिमयुक्त घुम्ती र उकालो गरी ५५० मिटर सडक ढलान गरिएको छ ।
वि.सं. २०८१ असारमा ५ करोड ८६ लाख ३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको यो योजना १८ महिनाको अवधि तोकिए पनि निर्धारित समयभित्रै सम्पन्न भएको हो ।
सडकको स्तरोन्नति भएसँगै स्थानीय बासिन्दा हर्षित छन् । स्थानीय मिलन रोकाका अनुसार सडक साँघुरो हुँदा जिप र ट्र्याक्टर मुस्किलले चल्ने गरेकामा अहिले १० चक्के ट्रक नै गाउँ पुग्न थालेका छन् ।
“भिरालो पाखाको घुम्तीमा गाडी पार गराउन पछाडि सार्नुपर्ने बाध्यता अब हटेको छ । बरङ्जादेखि बेनी पुग्न पहिले एक घण्टा लाग्थ्यो, अहिले सडक राम्रो भएपछि ३० मिनेटमै पुगिन्छ,” रोकाले भने । सडक सहज बनेपछि गाउँमा उत्पादित दूध, सुन्तला, तरकारीलगायत कृषि उपज बजारसम्म लैजान किसानलाई ठूलो राहत मिलेको छ ।
सडक निर्माण समितिका तत्कालीन अध्यक्ष मोहनलाल सापकोटाले अप्ठ्यारो खण्डमा सडक राम्रो बनेकोमा खुसी व्यक्त गर्दै पखेरदेखि झाँक्रीपानीसम्मको पूरै ११ किलोमिटर सडक स्तरोन्नति हुनुपर्ने माग राखे ।
यो सडक मङ्गला गाउँपालिकाका वडा नं ३, ४ र ५ का साथै छिमेकी जिल्ला बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दाले समेत प्रयोग गर्ने रणनीतिक महत्त्वको मार्ग हो । म्याग्दी प्रदेशसभा (ख) का सदस्य रेशमबहादुर जुग्जालीले जनघनत्व बढी भएको यस क्षेत्रको सडकलाई प्राथमिकतामा राखेर प्रदेश सरकारबाट बजेट व्यवस्थापन गरिएको बताए ।
निर्माण कम्पनीले लक्ष्यअनुसार समयमै काम सम्पन्न गरे पनि बजेट अभावका कारण भुक्तानी पाउन सकेको छैन । पूर्वाधार विकास कार्यालयका प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर डा. महेन्द्र बानियाँले योजनाको भौतिक प्रगति उत्साहजनक भए पनि बजेट अभावले वित्तीय प्रगति कम देखिएको जानकारी दिए ।
यस योजनाका लागि चालु आर्थिक वर्षमा १ करोड ३९ लाख रुपैयाँ विनियोजन गरिएको थियो । तर, निर्माण व्यवसायी जीवन रोकायाले करिब ८० लाख रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको गुनासो गरेका छन् । रकम रोकिँदा निर्माण सामग्री आपूर्तिकर्ता र मजदुरलाई ज्याला दिन समस्या भएको उनले बताए ।