पर्यटन प्रबर्द्धनमा सम्भावना बाेक्दै लिस्तीकोट, होमस्टेले सहज बन्दै भैरबकुण्ड

दिपेन्द्र श्रेष्ठ / सानुराज डंगाेल
सिन्धुपाल्चोक, २२ चैत्र । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका भौगोलिक आकारले सानो भए पनि यसको प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदा अत्यन्त विशाल र आकर्षक छ। काठमाडौंबाट छोटो दूरीमै पुग्न सकिने भएकाले यहाँ आन्तरिक तथा बाह्य पर्यटकका लागि सहज र किफायती गन्तव्यको रूपमा विकास हुने प्रबल सम्भावना देखिन्छ।

लिस्तीकोट क्षेत्रमा विकसित हुँदै गरेको होमस्टेले देशकै एक महत्वपूर्ण पर्यटकीय क्षेत्र बन्ने सम्भावनालाई व्यवहारमा रूपान्तरण गर्ने प्रभावकारी माध्यम बन्दै गएको छ। यहाँ आउने पर्यटकहरूले केवल दृश्यावलोकन मात्र होइन, स्थानीय जीवनशैली, संस्कृति, परम्परा र आतिथ्यताको प्रत्यक्ष अनुभव लिन पाउँछन्। नेवार, शेर्पा, तामाङलगायत समुदायको मौलिक पहिचान, भेषभूषा र संस्कृतिले लिस्तीकोटलाई अझ जीवन्त र विशिष्ट बनाएको छ।

लिस्तिकोटमा होमस्टे हाल कानुनी प्रक्रियाबाट ५ जनाले अनुमति पाएको भए पनि २ जनाले मात्र होमस्टे नियमसंगत संचालन गरेका छन् । गौरी शंकर संरक्षण आयोजनाले लिस्तिकोटमा होमस्टेको प्रबर्द्धन गर्न विशेष भुमिका निर्वाह गरेका छन् ।

गौरी शंकर संरक्षण आयोजनाले स्थानीय आय आर्जनका लागि लिस्तिकोटमा होमस्टेको प्रबर्द्धनकै लागि भनेर तीन दिन प्रशिक्षण दिएर प्रती घर दुई वटा डस्ना, दुई वटा सिरानी ,दुई टन्ना ,१ एैना र १ डस्टबिन समेत उपलब्ध गराएका थिए ।

आयोजना समितिले होमस्टेको ३ दिन प्रशिक्षण दिएर सञ्चालनमा ल्याएका हुन् । प्रशिक्षणले उत्साही भएर दश लाख रूपैयाँ लगानी गरेका स्थानीय लिस्तिमाइ होमस्टेका संचालक चमेरे प्रधानले होमस्टे सञ्चालन गर्न स्थानीय कला, संस्कृतिको पनि प्रबर्द्धन गर्नुपर्ने बताए । स्थानीय गाउँपालिकाबाट होमस्टे सञ्चालनका लागि सहयोग नपाएको लिस्तिमाइ होमस्टेका संचालक चमेरी प्रधानले बताउनुभयाे । उहाँका अनुसार होमस्टे क्यु प्रक्रियाबाट सञ्चालन गर्न पाए अझ राम्राे गर्न सकिने बताउनुभयाे ।

होमस्टे सञ्चालन भएपनि स्थानीय उत्पादन राम्राे नहुँदा समस्या भएकाे उहाँकाे भनाइ छ । होमस्टेमा अहिले गाइ भैसीकाे दुध लिटरकाे दुई सय तिर्छु भन्दा पनि नपाएर पाउडरको दुधले चलाउन परेको दुखेसो छ सञ्चालक प्रधानकाे। उहाँका अनुसार दुग्धजन्य पदार्थ स्थानीयले उत्पादन गरेर सहयोग गरिदिनु पर्ने धारणा छ।

हाल लिस्तीकाेटमा चार, पाच सय घरधुरि भए पनि गाउँ भरी ४० / ५० जना युवा पनि भेटिँदैन अनि होमस्टे कसरी चल्छ स्थानीय जनप्रतिनिधि रूपक प्रधान बताउँछन् ? गाउँपालिकाले स्थानीय युवाहरूलाई रोजगारीको प्रबर्द्धन गर्नु पर्ने उहाँकाे भनाइ छ । यहाँ विगत तीन वर्ष देखि होमस्टे संचालन भएको हाे ।

लिस्तीकोटसहित भोटेकोशी गाउँपालिकाका विभिन्न क्षेत्र गौरीशंकर संरक्षण क्षेत्र आयोजना भित्र पर्ने भएकाले यहाँको जैविक विविधता र वातावरण संरक्षणको महत्त्व अझ उच्च छ। यसले पर्यटन विकासलाई दिगो र व्यवस्थित बनाउन सहयोग पुर्‍याउँदै आएको छ।

भोटेकोसी गाउँपालिकाकाे महत्वपुर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य भैरव कुण्ड अझै पनि व्यापक रूपमा चर्चामा आउन सकेको छैन।

भोटेकोसी गाउँपालिका १ भित्रै रहेको लिस्तीकाेट भैरव कुण्डकाे प्रमुख गन्तब्य स्थल हाे । लिस्तीकाेट हुँदै पुगिने यो कुण्ड पछिल्लो समय भने आन्तरिक पर्यटकहरूको रोजाइमा पर्न थालेको छ।

समुन्द्री सतहबाट करिब ४२५० मिटरको उचाइमा अवस्थित भैरव कुण्डमा विशेष गरी जनै पूर्णिमाकाे अवसरमा मेला लाग्ने गर्दछ, यस क्षेत्रलाई धार्मिक साथै सांस्कृतिक सम्पदाकाे महत्वले पनि हेरिन्छ ।

भैरव कुण्ड जान काठमाडौँबाट पहिलो दिन भक्तपुर, बनेपा, जिराेकिलाे, दाेलालघाट, बनदेउ, सुकुटे, बलेफी, खाँडीचउर, लामाेसाँघु, बाह्रबिसे, डाक्लाङ हुँदै ठाडै उकालाे भएर काङलाङ, लिस्तिकोट पुग्न सकिन्छ । लिस्टीकाेटमा राम्रा राम्रा हाेमस्टेहरू छन् ।

यहाँका हाेमस्टेमा पर्यटकले सादा खाना दुइसयदेखि मासु खाना तिनसय पचास रूपैयाँसम्म खान पाइन्छ भने रूमकाे एक हजारदेखि दुई हजार सम्म पाइन्छ । त्यस दिन लिस्तिकोटमा बसेर सयाै वर्ष पुरानाे साँस्कृतिक सम्पदाहरू जस्तै उग्रचण्डी माइ, बौद्ध स्तुपा, सुनधारा, भिमसेन स्थान अवलाेकन गर्न सकिन्छ ।

दोस्रो दिन जिपमार्फत करिब २५५० मिटर उचाइमा रहेको छगाम, बगाम हुँदै करिब २–३ घण्टाको यात्रापछि ३८२० मिटर उचाइमा रहेको चोकरमोकर पुग्न सकिन्छ । पर्यटकहरूको सुविधाका लागि छगाम र चोकरमोकरमा केही होमस्टेहरू पनि सञ्चालनमा छन्। तर खान र बस्न अलि महङ्गाे छ ।

चोकरमोकरबाट भने भैरव कुण्ड पुग्न ३-४ घण्टाको पैदल यात्रा गर्नुपर्छ। यस पदयात्राका क्रममा देखिने गौरीशङ्कर, रोल्वालिङ क्षेत्र, लाङटाङ लिरुङ र चीनतर्फको सिसापाङ्मा हिमालको मनोरम दृश्यले यात्रालाई अझै रोमाञ्चक बनाउँछ।

पर्यटकले चाहेमा त्यसैदिन काठमाडाै फर्किन सकिन्छ भने आरामदायी यात्रा गर्छु भन्नेले त्यहि रूट हुँदै लिस्ती बसेर भाेलीपल्ट आरामले फर्किन सकिन्छ ।

तस्बिर: असिम श्रेष्ठ/ माेहन श्रेष्ठ सिन्धुपाल्चाेक

Leave a Reply

Your email address will not be published. Required fields are marked *