बोडेको प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ : परम्परा जोगाउन सुजनले चौथोपटक जिब्रो छेड्ने
भक्तपुर, २३ चैत्र । मध्यपुरथिमि नगरपालिकास्थित बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’मा यस वर्ष पनि स्थानीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन् । ऐतिहासिक परम्परालाई निरन्तरता दिँदै २९ वर्षीय सुजनले यसपटक चौथोपटक जिब्रो छेडाउन लागेका हुन् ।
करिब चार सय वर्षदेखि निरन्तर चल्दै आएको यो जात्राको बिँडो सुजनले आफ्नै बुबाबाट ग्रहण गरेका हुन् । उनका बुबा ५१ वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठले नौ पटक र काका कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएर बोडेको यो पहिचानलाई जोगाएका थिए । बुबाले विश्राम लिएपछि तीन वर्षअघिदेखि कान्छा छोरा सुजनले यो साहसिक परम्पराको पुस्तान्तरणलाई अगाडि बढाइरहेका छन् ।
जिब्रो छेड्ने परम्परा जति साहसिक छ, यसका नियमहरू उत्तिकै कठोर छन् । जात्राका कर्मी नायोसमेत रहेका कृष्णचन्द्र बाग श्रेष्ठका अनुसार, चैत २८ गते नाय पमाको घरमा पुगेर ‘चार दाम’ चढाएर सगुन दिएपछि जिब्रो छेड्ने पक्का गरिन्छ र सोही दिनबाट व्रत सुरु हुन्छ ।
जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघिदेखि नै नुन खान नहुने, जुठो वा सुतक परेका र अशुद्ध व्यक्तिलाई छुन नहुने, महिलालाई छुन नहुने र बोडे देश (बस्ती) छाडेर बाहिर जान नहुने कडा नियम रहेको सुजनका बुबा बुद्धकृष्णले जानकारी दिए ।
कुनै समय जिब्रो छेड्ने मानिस नपाएर जात्रा नै रोकिने हो कि भन्ने चिन्ता हुने बोडेमा अहिले युवा पुस्ताको आकर्षण बढेको छ । यस वर्ष मात्रै सुजनसहित अन्य चार जना युवाले जिब्रो छेड्ने रहर देखाएका थिए । तर, आफूले सक्ने बेलासम्म आफैँले जिब्रो छेडेर जात्रा चलाउने सुजनको अठोट छ ।
सानैदेखि बुबाले जिब्रो छेडाउँदा सँगै हिँड्ने सुजनलाई हजारौँको जयजयकार देख्दा आफूलाई पनि जिब्रो छेड्ने रहर जाग्थ्यो । “पहिलोपटक जिब्रो छेड्दा उत्साह र उमङ्गले दुखाइको समेत पत्तो भएन,” सुजनले भने, “बुबाले जात्रा र संस्कृति जोगाएको देखेर मलाई पनि आँट आयो । यस वर्ष पनि जिब्रो छेडाएर महाद्वीप बोकी बोडे देश घुम्नेछु ।”
आफ्नो छोराले संस्कृतिको रक्षा गरेको देख्दा बुबा बुद्धकृष्ण पनि निकै खुसी छन् । “यो जात्रा नभए बोडेको पहिचान नै मेटिन्छ । छोराले यो कुरा बुझेर जात्रालाई निरन्तरता दिएको छ,” उनले भने, “बोडेको संस्कृति जोगाउन अब हरेक वर्ष युवाहरू तयार हुनुपर्छ ।”
यस्तो छ जिब्रो छेड्ने विधि
जात्राको दिन (वैशाख २ गते) व्रत बस्ने व्यक्तिले शक्ति प्राप्तिको कामना गर्दै बोडेका विभिन्न देवीदेवताको पूजाआजा गर्छन् । त्यसपछि प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा १० इन्च लामो फलामको सुइरोले जिब्रो छेड्ने गरिन्छ ।
जिब्रो छेडिसकेपछि ती व्यक्तिले बाँसको अर्धचन्द्राकार महाद्वीप (भ्वाय्) बोकेर बोडे सहरको परिक्रमा गर्छन् । अन्त्यमा महालक्ष्मी मन्दिर पुगेर सुइरो झिकिन्छ र उक्त सुइरो मन्दिरमै ठोकेर घाउमा मन्दिरकै माटो लगाउने चलन छ । बोडेमा हालसम्म १३ जना व्यक्तिले निरन्तर १०९ वर्ष जिब्रो छेडेको आधिकारिक रेकर्ड रहेको छ ।