मध्यपूर्व तनाव: ४५ दिने युद्धविराम र होर्मुज जलमार्ग खोल्ने प्रस्ताव, इरानी गुप्तचर प्रमुख मारिए
एजेन्सी, २३ चैत । इरान र संयुक्त राज्य अमेरिकाबीच जारी भीषण युद्धका बीच द्वन्द्वलाई अस्थायी रूपमा रोक्न ४५ दिने युद्धविरामको नयाँ प्रस्ताव अघि सारिएको छ । इजिप्ट, पाकिस्तान र टर्कीका मध्यस्थकर्ताहरूले तयार पारेको उक्त प्रस्तावमा रणनीतिक महत्वको ‘स्ट्रेट अफ होर्मुज’ (होर्मुज जलडमरूमध्य) पुनः खोल्ने विषय समेत समावेश गरिएको छ ।
मध्यपूर्वका उच्च अधिकारीहरूका अनुसार वार्ताका लागि ४५ दिनको समय दिने र सो अवधिमा स्थायी शान्तिको मार्ग खोज्ने लक्ष्य राखिएको यो मस्यौदा प्रस्ताव इरानी विदेशमन्त्री अब्बास अराघची र अमेरिकी मध्यपूर्व दूत स्टिभ विटकफलाई पठाइएको छ । यद्यपि, दुवै पक्षबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।
शान्तिको प्रस्ताव आए पनि दुवै देश आ–आफ्नो अडानमा अडिग छन् । इरानले आर्थिक क्षतिपूर्ति र पुनः आक्रमण नगर्ने ग्यारेन्टी बिना युद्ध नरोक्ने बताएको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तोकिएको समयभित्र होर्मुज जलमार्ग नखुले इरानका महत्वपूर्ण पूर्वाधारमा थप कडा आक्रमण गर्ने चेतावनी दिनुभएको छ ।
युद्धविरामको चर्चा चल्दै गर्दा युद्धमैदानमा भने हिंसा थप चर्किएको छ । इरानी अर्धसैनिक दस्ता ‘रिभोलुसनरी गार्ड’ का गुप्तचर प्रमुख मेजर जनरल माजिद खादेमी लक्षित आक्रमणमा मारिएका छन् । इरानी सरकारी सञ्चारमाध्यमले उनको मृत्युको पुष्टि गरेका छन् भने इजरायलले गार्डका शीर्ष नेतृत्वलाई क्रमशः सिध्याउने रणनीति अन्तर्गत यो सफलता मिलेको दाबी गरेको छ ।
पछिल्लो २४ घण्टामा इरानका विभिन्न सहरमा भएका हवाई आक्रमणमा परी २५ जनाभन्दा बढीको मृत्यु भएको छ । तेहरान नजिकैको एस्लामसारमा मात्रै १५ जनाले ज्यान गुमाएका छन् । प्रतिष्ठित सरिफ युनिभर्सिटी अफ टेक्नोलोजीमा समेत आक्रमण भएपछि विद्यार्थीहरू क्याम्पस छाड्न बाध्य भएका छन् ।
द्वन्द्वको बाछिटा छिमेकी खाडी मुलुकहरूसम्म पुगेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा इरानी ड्रोन आक्रमणबाट दूरसञ्चार भवनमा क्षति पुगेको छ । यता इजरायलको हाइफा र मध्य क्षेत्रका आवासीय भवनहरूमा लगातार क्षेप्यास्त्र प्रहार भइरहेको छ, जहाँ केही नागरिकको मृत्यु भएको र कतिपय बेपत्ता रहेको बताइएको छ ।
फेब्रुअरी २८ देखि सुरु भएको यो युद्धले विश्व ऊर्जा बजारलाई नराम्ररी प्रभावित पारेको छ । विश्वको करिब २० प्रतिशत तेल र ग्यास आपूर्ति हुने होर्मुज जलमार्ग बन्द हुँदा अन्तर्राष्ट्रिय बजारमा इन्धनको अभाव र मूल्यवृद्धि चुलिएको छ । यसैबीच, दक्षिण कोरिया लगायतका देशहरूले साउदी अरेबियाको मार्ग हुँदै वैकल्पिक ऊर्जा आपूर्तिका लागि कूटनीतिक पहल तीव्र बनाएका छन् ।
युद्धका कारण सिर्जित मानवीय सङ्कट र अन्तर्राष्ट्रिय दबाबका बीच आएको ४५ दिने युद्धविरामको प्रस्तावलाई सकारात्मक मानिए पनि युद्धको पछिल्लो अवस्थाले समाधान अझै चुनौतीपूर्ण रहेको सङ्केत गरेको छ ।