सर्पदंशको जोखिम न्यूनीकरण गर्न सर्वसाधारणलाई सर्प पहिचानसम्बन्धी तालिम

कैलाली, २४ चैत्र । गर्मीयाम सुरु भएसँगै कैलालीको टीकापुर नगरपालिकामा सर्पदंशको जोखिम बढ्ने भएकाले यसबाट बच्न सर्वसाधारणका लागि ‘सर्प पहिचान तथा उद्धार’ सम्बन्धी तालिम सञ्चालन गरिएको छ।

नगरपालिकाले नगर प्रहरी, थारु समुदायका अगुवा (बडघर), टोल विकास संस्थाका पदाधिकारी, शिक्षक, विद्यार्थी तथा युवाहरूलाई लक्षित गर्दै विषालु र अविषालु सर्प चिन्ने र टोकाइबाट बच्ने उपायबारे सचेत गराउन थालेको हो। मानिसलाई डसिहालेमा प्राथमिक उपचार कसरी गर्ने र घरमा पसेका सर्पको सुरक्षित उद्धार कसरी गर्ने भन्ने विषयमा तालिम केन्द्रित छ।

टीकापुर नगरपालिका–१ ले चालु आर्थिक वर्षमा विपद् व्यवस्थापनअन्तर्गत बजेट विनियोजन गरेर यो अभियान थालेको हो। वडाले १०० वटा टोल विकास संस्थाका प्रतिनिधि, बडघर र सामुदायिक प्रशिक्षकलाई पूर्वतयारीस्वरुप तालिम दिन सुरु गरेको छ।

“तराई भएकाले यहाँ सर्पदंशको जोखिम धेरै छ, तर मानिसहरू सर्प देख्नेबित्तिकै मार्न खोज्छन्,” वडा नम्बर १ का अध्यक्ष मोहन लुहार विकले भने, “सर्प चिन्न सकेमा कुन सर्पले टोक्यो भनेर समयमै उपचार गर्न सहज हुन्छ। साथै, वातावरण सन्तुलनका लागि सर्पको महत्त्व बुझाएर सर्प मार्ने प्रवृत्ति अन्त्य गर्न पनि यो तालिम दिएका हौँ।”

टीकापुरमा विषालु सर्पको जोखिम भए पनि घरबस्तीमा पसेका सर्पको सुरक्षित उद्धार गर्ने दक्ष जनशक्तिको अभाव छ। सर्पले डस्दा मानिसहरू आत्तिने र अविषालु सर्पलाई पनि विषालु ठानेर डराउने समस्या छ।

प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले नागरिकमा सचेतना फैलाउनुका साथै दक्ष उद्धारकर्ता तयार गर्न लागिएको जानकारी दिए। “अहिले नगरमा एकजना मात्र उद्धारकर्ता हुनुहुन्छ। उहाँ एक्लैलाई टाढा–टाढासम्म पुगेर सर्प उद्धार गर्न भ्याइनभ्याइ हुन्छ,” धितालले भने, “त्यसैले हामीले थप युवालाई सर्प उद्धारकर्ताको तालिम दिन सूचना नै आह्वान गरेका छौँ।”

वन, वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीका अनुसार नगरपालिकाले २० जना युवालाई छनोट गरी विशेष तालिम दिने तयारी गरेको छ। तालिमप्राप्त ती युवाहरूको दुर्घटना बिमा गरेर प्रत्येक वडामा पायक पर्ने गरी स्वयंसेवकका रूपमा परिचालन गरिने उनले बताइन्।

यसैबीच, टीकापुर अस्पतालमा सर्पदंशका बिरामीहरू आउने क्रम जारी छ। अस्पतालमा सर्पदंशको प्रभावकारी उपचार सेवा उपलब्ध छ। अस्पतालका मेडिकल रेकर्डर तथा सूचना अधिकारी पदमराज भट्टका अनुसार चालु आर्थिक वर्षको हालसम्म मात्रै ४७ जना सर्पदंशका बिरामीले अस्पतालबाट उपचार सेवा लिइसकेका छन्।