प्रमाण नपुगेपछि पूर्वप्रधानमन्त्री ओली रिहा, अस्पतालबाटै परिवारको जिम्मा

काठमाडौं, २६ चैत्र । प्रहरीले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई हाजिरी जमानीमा रिहा गरेको छ । अदालतमा मुद्दा दायर गर्न पर्याप्त आधार र प्रमाण नभेटिएपछि उहाँलाई सोमबार परिवारको जिम्मा लगाएर छाडिएको हो ।

स्वास्थ्यमा समस्या आएपछि त्रिवि शिक्षण अस्पताल (महाराजगञ्ज) मा उपचाररत रहनुभएका अध्यक्ष ओलीलाई अस्पतालबाटै परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले जानकारी दिनुभयो ।

‘जेन्जी आन्दोलन’का क्रममा भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनका आधारमा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ज्यानसम्बन्धी कसुरमा प्रहरीले पक्राउ गरेको थियो ।

यसअघि सर्वोच्च अदालतले उहाँहरूविरुद्ध कि त मुद्दा दायर गर्न कि चैत २६ गतेभित्र रिहा गर्न आदेश दिएको थियो । अदालतको सोही आदेशको म्याद सकिने अन्तिम दिन प्रहरी र महान्यायाधिवक्ता कार्यालयबीच प्रमाणको अभावमा मुद्दा अघि नबढाउने सहमति जुटेसँगै ओली हिरासतमुक्त हुनुभएको हो ।