नागढुङ्गा सुरुङमार्गको ‘टोल दर’ राजपत्रमा प्रकाशित : कुन सवारीसाधनलाई कति शुल्क ? (सूचीसहित)

काठमाडौं, २७ चैत्र । सरकारले निर्माणको अन्तिम चरणमा रहेको नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूबाट उठाइने शुल्क (टोल दर) तय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै सुरुङमार्ग उपभोगबापत लिइने दस्तुर सार्वजनिक गरेको हो ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार, काठमाडौं प्रवेश गर्ने र काठमाडौंबाट बाहिरिने सवारीसाधनका लागि फरक–फरक शुल्क निर्धारण गरिएको छ । बाहिरिनेभन्दा भित्रिने सवारीसाधनका लागि शुल्क केही बढी तोकिएको छ ।

गत साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी सुरुङमार्गमा दस्तुर लिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा मन्त्रालयले दररेट सार्वजनिक गरेको हो ।

यस्तो छ सुरुङमार्ग प्रयोग गर्दा तिर्नुपर्ने दस्तुर :

– हलुका सवारीसाधन (कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रो बस र अन्य): काठमाडौं प्रवेश गर्दा रु. ६५ र बाहिरिँदा रु. ६०
– मझौला सवारीसाधन (मिनी बस, मिनी टिपर/ट्रक): काठमाडौं प्रवेश गर्दा रु. ११५ र बाहिरिँदा रु. ८०
– ठूला सवारीसाधन (बस, सिङ्गल रियर एक्सल ट्रक): काठमाडौं प्रवेश गर्दा रु. २६० र बाहिरिँदा रु. २००
– अति भारी सवारीसाधन (मल्टी एक्सल ट्रक तथा भारी उपकरण): काठमाडौं प्रवेश गर्दा रु. ६०० र बाहिरिँदा रु. २५०

मन्त्रालयले तोकेको यो दस्तुर सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि लागू हुनेछ । मुलुककै पहिलो यस सुरुङमार्गले काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनको यात्रा अवधि छोट्याउनुका साथै इन्धनको समेत बचत गर्ने अपेक्षा गरिएको छ ।