‘यहाँ श्रम गरिन्छ’ लेखिएका भ्रामक बोर्ड ३० गतेभित्र हटाउन वैदेशिक रोजगार विभागको कडा निर्देशन

काठमाडौं, २७ चैत्र । वैदेशिक रोजगार विभागले आफ्नो कार्यालय वरपरका साइबर क्याफे र विभिन्न तालिम केन्द्र (इन्स्टिच्युट) हरूलाई ‘श्रम स्वीकृति’ सम्बन्धी भ्रामक बोर्ड तथा सूचनाहरू आगामी चैत ३० गतेभित्र हटाउन कडा निर्देशन दिएको छ ।

बाह्य पसल तथा संस्थाहरूले आफ्नो सटर र भित्तामा ‘यहाँ श्रम गरिन्छ’, ‘श्रम स्वीकृतिसम्बन्धी कार्य गरिन्छ’, ‘श्रम अनलाइन फाराम भरिन्छ’ जस्ता सूचना टाँस्दा वैदेशिक रोजगारीमा जाने सेवाग्राहीहरू भ्रममा परेको र ठगिने जोखिम बढेको भन्दै विभागले यस्तो कदम चालेको हो ।

श्रम स्वीकृति प्रदान गर्ने अधिकार वैदेशिक रोजगार विभाग र सरकारले तोकेका आधिकारिक श्रम तथा रोजगार कार्यालयहरूलाई मात्र रहेको विभागले स्पष्ट पारेको छ । बिहीबार एक सूचना जारी गर्दै विभागले सर्वसाधारणलाई भ्रममा पार्ने गरी अनधिकृत व्यक्ति वा संस्थाहरूले गर्दै आएका यस्ता प्रचारप्रसार तत्काल बन्द गर्न सचेत गराएको छ ।

तोकिएको समय (चैत ३० गते) भित्र यस्ता भ्रामक सूचना र बोर्डहरू नहटाएमा वा अटेर गरेमा वैदेशिक रोजगार ऐन, २०६४ तथा अन्य प्रचलित कानुनबमोजिम कडा कानुनी कारबाही गरिने चेतावनीसमेत विभागले दिएको छ । विभागले सेवाग्राहीलाई पनि यस्ता भ्रामक सूचनाको पछि नलागी आधिकारिक निकायबाट मात्र सेवा लिन आग्रह गरेको छ ।