नुवाकोटमा आफैँले काटेको रुखले किचेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
नुवाकोट, २८ चैत । नुवाकोटको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् । शनिबार दिउँसो आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) विक्रम लामाका अनुसार रुख काट्दै गर्दा अचानक रुखको दिशा बदलिएर उनीहरूमाथि नै खस्न पुगेको थियो ।
सोही घटनामा परी ३७ वर्षीय अरुण तामाङ र ३३ वर्षीय माधव भुजेल घाइते भएका छन् । घाइते दुवै जनालाई तत्काल उद्धार गरी उपचारका लागि त्रिशूली अस्पताल पुर्याइएको छ । अस्पताल स्रोतका अनुसार घाइतेहरूको शरीरका विभिन्न भागमा गहिरो चोट लागेकाले उनीहरूको अवस्था गम्भीर रहेको छ ।
प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान र मुचुल्का सम्पन्न गरी शवलाई परीक्षण (पोस्टमार्टम) का लागि जिल्ला अस्पताल पठाएको छ । गाउँमै भएको यस दुःखद घटनाले नलगाउँ क्षेत्र शोकमा डुबेको छ ।